राजनीति

भुटानी शरणार्थी शिविर खाली गराइयो

दमक–विगत २६ वर्षदेखि झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर ‘वेलडाँगी १’ खाली गराइएको छ।

उक्त शिविरमा बस्दै आएका अधिकाशं शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गइसकेका छन्। बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरी दमक नगरपालिका–२ को उक्त शिविर खाली गराइएको हो।

शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाका अनुसार थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण गरी सारिएको छ । बेलडाँगीमा  तीनवटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो।

भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घरबाहेक अन्य सबै घर भत्काएर सो क्षेत्रबाट शरणार्थी हटाइसकिएको छ। शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा २५ हजार शरणार्थी राखिएको थियो । स्थानन्तरणको समयमा ७७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

सन् २००७ देखि सुरु भएको तेस्रो मुलुक पुनर्वासपछि बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी ६ हजार १४३ जना मात्र दर्ता भएका शरणार्थी बाँकी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ। दर्ता हुनबाट बञ्चित भुटानी शरणार्थीको संख्या १७ सय ४१ रहेको शरणार्थीले दावी छ। रासस 

प्रकाशित: २७ भाद्र २०७५ १२:२५ बुधबार

भुटानी_शरणार्थी खाली पुनर्वास