राजनीति

‘अध्यक्ष वा प्रधानमन्त्री मैले पाउने समझदारी छ’

काठमाडौं – नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको भारतीय नेताहरूसँग बताएका छन्।

चारदिन भारत भ्रमणमा गरेर हालै स्वदेश फर्किएका दाहालले भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा आफूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको समझदारीका बारेमा भारतीय नेतालाई पनि जानकारी गराएको बताएका छन्।

‘तपाईहरुको बीचमा कस्तो समझदारी भएको छ ? ओलीले दुई वर्ष भित्रमा प्रधानमन्त्री, पार्टी अध्यक्ष वा दुवै पद दिने प्रतिवद्धता जनाउनुभएको छ ?’ भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले दुई मध्य एक पद दिने समझदारी भएको बताएका छन्।

यदि दिएनन् भने नि ? भन्ने प्रश्नमा दाहालले भनेका छन्, ‘त्यसपछि हेरौँला, अहिले हामी इमान्दारीसाथ अघी बढिरहेका छौँ । म त्यसैअनुसार अघी बढेको छु । यो विषयमा मैले भारतीय नेतासँग पनि भनेको छु।

दाहालले कांग्रेससँग ५०–५० मा कुरा नमिलेपछि तत्कालीन एमालसँग चुनावी गठबन्धन बनाएको बताएका छन् । ‘कांग्रेसले हामीलाई १५ देखि २० प्रतिशतमात्र दिन सकिने जनायो, जबकी एमालेले हामीलाई ४० प्रतिशत प्रस्ताव गर्याे,’ दाहालले भनेका छन् । दाहालले चीनले नेपालका सबै कम्युनिस्ट पार्टी एक भएको हेर्न चाहे पनि अहिलेको एकतामा चीनको कुनै भूमिका नरहेको पनि बताएका छन्।

प्रकाशित: २७ भाद्र २०७५ ०१:०१ बुधबार

पुष्पकमल_दाहाल नेकपा भारतीय_नेता