काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।
भारत भ्रमणमा कुनै राजनीतिक एजेण्डा नभएको बताए पनि नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका प्रतिबद्धता स्मरण गराउन मात्र दाहालले चार दिन दिल्लीमा पक्कै विताएनन्। उनले प्रधानमन्त्री ओलीले अघि सारेको 'खुशी नेपाली सम्वृद्व नेपाल’ को नारालाई समेत अन्तरक्रिया कार्यक्रममा पटक पटक उच्चारण गरेर ओलीलाई समेत सन्तुलनमा राख्ने प्रयास गरे।
भारत भ्रमणबाट फर्किएको भोलीपल्ट सोमबार दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटर पुगे। उनीहरुले त्यहाँ भ्रमणको समिक्षा गरेको भन्दै दाहालको नीजि वेभसाइटमा समाचार प्रकाशन भयो। त्यहाँ भनिएको छ, ' नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ। आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो।'
नेपालको राजनीतिक वृतमा केही न केही गरिरहने नेताको रुपमा दाहालको छवी छ। उनी राजनीतिकमा शान्तरुपले बस्दैनन्। तर पार्टी एकतापछि प्राय: मौन देखिएका दाहाल एक्कासी सक्रिय भएका छन्। त्यो पनि दुई छिमिकीको भ्रमणसँगै।
पार्टीका तल्ला कमिटीहरुको समायोजन हुन सकिरहेको छैन। जिल्ला तहमा पनि एकतापछिको समायोजनमा विवाद देखिएको छ। पूर्व माओवादीलाई पाखा लगाउन खोजिएको भन्दै माओवादी वृत्तमा असन्तुष्टि छ। जनवर्गीय संगठनहरुको समायोजनले पनि पूर्णता पाएको छैन। यही समय दाहालको सक्रियतालाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ।
प्रकाशित: २५ भाद्र २०७५ ०९:०२ सोमबार