राजनीति

भारतसँग व्यापार घाटा र सीमा समस्याबारे छलफल गरेको छु : अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्केका छन्।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्रमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताए। ‘प्रायः उच्च तहमा लामो छलफल गर्ने अवसर कही कत्तै मिल्दैन तर यसपाली त्यस्तो अवसर मिल्यो। प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक कुराकानी भयो। यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ’, विमानस्थलमा पत्रकारहरुसँग भने।

चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको रणनैतिक वार्ताबारे प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै अध्यक्षले भने, ‘चीन र भारतले ४०० वर्ष अघिसम्म ५१ प्रतिशत भन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरेको थियो, तर ४०० वर्ष यता बिग्रिएर घटेको र फेरी एकपटक यहाँको अर्थतन्त्र र सभ्यतालाई पुनः एसियामा स्थापित गर्नुपर्छ भन्ने रणनैतिक कुराहरु उहाँले गम्भीता पूर्वक बताउनु भयो।’

अध्यक्षले भारत भ्रमणका क्रममा आफूले नेपाल–भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधान लगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको बताए। अध्यक्ष दाहालले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिवद्धता कार्यान्वयनका कुरादेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल भएको बताए।

 

प्रकाशित: २४ भाद्र २०७५ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App