राजनीति

हत्या अभियोगमा विश्वकर्मालाई दाङ ल्याइयो

दाङ– प्रहरी नियन्त्रणमा रहेका बिप्लव नेतृत्वको नेकपा समूहका प्रवक्ता खड्गवहादुर बिश्वकर्मालाई ‘प्रकाण्ड’ लाई  दाङ ल्याइएको छ। उनिमाथि तुलसीपुरमा बम बिस्फोटमा मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोग लगाइएको छ। नेपाली कांग्रेसले तुलसीपुरमा गत मंसिर १२ मा गरेको चुनावी आमसभालाई लक्षित गर्दै भएको बिस्फोटनमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ क्वाङिका २३ बर्षिय बिनोद चौधरीको मृत्यु भएको थियो।

उक्त बिस्फोटमा विश्वकर्माको संलग्नता रहेको भन्दै प्रहरीले उनिबिरुद्ध ज्यान मुद्दा दर्ता भएको जनाएको छ। यो घटनाका योजनाकार भनिएका विश्वकर्मा फरार सूचीमा थिए। ‘गत मंसिर १२ गते तुलसीपुरमा भएको बम विस्फोटको संलग्नता उनको रहेको र त्यो घटनामा मृत्यु भएका म्यादी प्रहरी बिनोद चौधरीको हत्या अभियोगमा उनिबिरुद्ध ज्यान मुद्दा दर्ता भएको हो’, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने, ‘उनी प्रहरीको फरार सूचीमा थिए।’

शुक्रवार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनलाई आइतवार जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै विश्वकर्माले आफूमाथि राज्यले अन्याय गरिरहेको बताए। न्यायालयले रिहा गर्न पटक पटक फैसला गर्दा समेत सरकारले अदालतको फैसलालाई लत्याइरहेको बताए। ‘राज्यले म माथि प्रतिशोध साँधेर ठूलो अन्याय गरिरहेको छ’, उनले भने, ‘न्यायालयले गरेको फैसलालाई समेत लत्याएर राज्यले संविधानको मर्मलाई कुल्चीरहेको छ, न्यायालयलाई मिचिरहेको छ।’ 

काठमाडौंदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले उनलाई शुक्रवार भोजपुरबाट दाङ ल्याएको हो। अदालतले उनलाई रिहा गर्न आदेश दिएपनि प्रहरीले उनलाई अर्को फरक मुद्दामा नियन्त्रणमा लिँदै आएको छ। भोजपुरमा रहेको मुद्दामा धरौटीमा रिहा भएका उनलाई प्रहरीले दाङको बम बिष्फोटनको घटनामा मारिएका म्यादी प्रहरीको हत्या अभियोगमा पुनः नियन्त्रणमा लिएको हो। 

प्रकाशित: २२ भाद्र २०७५ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App