राजनीति

१५ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज १५ औं निजामति सेवा दिवस ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। २०६२ साल भदौ २२ गतेबाट नेपालमा औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो। अहिले नेपालमा करिब ८५ हजार निजामती कर्मचारी कार्यरत छन्।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी ओलीले नागरिकको घरदैलोमा गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गर्न कर्मचारीसँग आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सक्षम र परिणाममुखी सेवा प्रवाह गर्न पनि निजामती कर्मचारीलाई अपिल गरेका छन्।

यसैगरी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको बढ्दो आवश्यकता र अपेक्षालाई राष्ट्रको उपलब्ध स्रोत साधनको विवेकपूर्ण उपयोगमार्फत सम्बोधन गर्न नेपालको निजामती प्रशासन प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

मन्त्री पण्डितले दिएको शुभकामना सन्देशमा राष्ट्रको समृद्धि र साधनको अधिकतम उपयोग गर्दै मुलुकको तीव्र सामाजिक तथा आर्थिक विकासमा निजामती कर्मचारीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

प्रकाशित: २२ भाद्र २०७५ ०३:२३ शुक्रबार

निजामती_सेवा सुशासन कर्मचारी