राजनीति

बिम्स्टेक सम्मेलन फलदायी : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवै दृष्टिले फलदायी भएको बताएका छन् । सिंहदरबारमा आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन्।

‘नेपालमा उत्पादित विद्युत् अन्य देशमा बिक्री गर्न हामी लाई विद्युतीय ग्रीड चाहिएको थियो, त्यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय गरेका छौं, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि हो,’ ओलीले भने । उनका अनुसार सो विषयमा भारत र बंगलादेशसँग विशेष रूपमा केन्द्रीत भएर कुराकानी गरिएको छ, जसबाट भारत, बंगलादेश र म्यानमार मात्र होइन, सूदुर भविष्यमा थाइल्याण्डसम्म बिजुली निर्यात गर्ने बाटोसमेत खुलेको छ।

नेपाल र नेपालीको हितलाई सर्वोपरि ठानेर बिम्स्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएको बताउँदै प्रधानमन्त्रीले ओलीले भने, ‘बिम्स्टेक होस् वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं ।’ उक्त अवसरमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र रक्षा मन्त्रालय अन्तर्गतका सुरक्षा निकायलगायत सरकारका सबै निकायप्रति धन्यवाद ज्ञापन गरेका छन्।

नेपाली जनता खास गरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासीप्रति उनले आभार प्रकट गरेका छन् । ‘आमसञ्चार माध्यम, वौद्धिक जगत र आमसर्वसाधारण सबैप्रति धेरै धन्यवाद व्यक्त गर्दछु,’ सो बैठकमा ओलीले भने।

प्रकाशित: १९ भाद्र २०७५ ०१:१२ मंगलबार

बिम्स्टेक_सम्मेलन केपी_शर्मा_ओली