राजनीति

कोइकाकाे लगानीलार्इ स्वीकृति प्रदान गर्न संघीय सरकारसँग माग

सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सी (कोइका) लाई कर्णाली प्रदेशमा लगानीका लागि स्वीकृति दिन संघीय सरकारसँग अनुरोध गरेको छ। कोइकाले कर्णालीमा सडक, शिक्षा, सिंचाई, विद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेकाले स्वीकृति दिन संघीय सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयले कोइकासँग कर्णालीमा लगानीका लागि छलफल गरिरहेको छ। ‘आर्थिक मामिला मन्त्रालयसँग भएको छलफलका क्रममा कोइका कर्णालीमा बहुप्राविधिक शिक्षालय, सडक, खानेपानी, सिंचाई, विद्युत, पर्यटनलगायत विभिन्न क्षेत्रमा सहयोग गर्न तयार छ’ प्रवक्ता केसीले भनिन्, ‘संघीय सरकारको स्वीकृति विना अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्न नपाउने भएकाले स्वीकृतिका लागि नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गरेका छौं।’

सोमबारको मन्त्रिपरिषद बैठकले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित तत्कालिन संगठन संरचना, दरवन्दी तथा कार्यालय रहने स्थान स्वीकृत गर्ने निर्णय गरेको छ। ‘संघीय सरकारले पठाएको दरवन्दी र प्रदेश सरकारलाई प्राप्त जिल्लाका भौतिक संरचनाहरु मार्फत तत्कालका लागि बजेट कार्यान्वयन गर्ने निर्णय भएको छ’ उनले भनिन्, ‘आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनपछि नयाँ संरचना अनुसार अघाडि बढ्छौं।’

कर्मचारी र भौतिक संरचना खोज्दै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि कर्मचारी र भौतिक संरचनाको खोजी सुरु गरेको छ। प्रदेश मातहत रहेका एक सय १ कार्यालयमा कार्यरत कर्मचारीको तथ्याङ्क संकलन सुरु गरिएको हो। प्रदेश सरकारसँग आफू मातहतका कार्यालयमा कति कर्मचारी कार्यरत छन् भन्ने जानकारी छैन्। संघीय सरकारले कर्णाली प्रदेशका लागि दुई हजार दुई सय ३६ जना कर्मचारीको दरवन्दी स्वीकृत गरेर पठाएपछि हाल कार्यरत कर्मचारीको तथ्याङ्क संकलन सुरु गरिएको हो।

कर्णाली प्रदेशमा आवश्यक जनशक्ति, भौतिक पूर्वाधार लगायतका विषयमा अध्ययन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा सात वटै मन्त्रालयका सचिव र दुई विज्ञ रहेको समिति गठन गरिएको छ। समितिको प्रतिवेदनपछि स्थायी संरचना, अपुग दरवन्दीका विषय जानकारी हुने प्रवक्ता केसीले जानकारी दिइन।

कर्णालीका दुर्गम जिल्लाहरुमा कर्मचारीहरु जान मान्दैनन्। प्रदेशमा मन्त्रालयहरुमै अहिले कर्मचारी अभाव छ। मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालयका लागि तीन सय ७८ जनाको दरवन्दी स्वीकृत छ। दुई सय १७ अझै पदपूर्ति हुन सकेको छैन्। कर्मचारी र भौतिक संरचनाको अभावमा प्रदेश सरकारले अहिलेसम्म बजेट कार्यान्वयन गर्न सकेको छैन्।

सामाजिक विकास मन्त्रालय मातहत प्रदेशका १० वटा जिल्लामा २९ कार्यालय छन्। यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत २३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत २६ र भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत २३ वटा कार्यालय छन्। मुख्यमन्त्रीको निर्देशनपछि यि कार्यालयमा कार्यरत जनशक्ति र आवश्यक जनशक्तिको प्रतिवेदन बनाउने तयारीमा मन्त्रालयहरु जुटेका छन्।

प्रकाशित: १८ भाद्र २०७५ १०:१८ सोमबार

कर्णाली_प्रदेश मन्त्रीपरिषद काेइका