राजनीति

कर्णाली विकासका लागि विज्ञ समूह गठन

सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद बैठकले नेकपाका नेता जनार्दन शर्मासहित १० जनाको विज्ञ समूह गठन गरेको हो। विज्ञ समूहमा जनार्दन शर्मा सहित नेपाली सेनाका पूर्व उपरथी वालानन्द शर्मा, डा. सुरेश तिवारी, डा. पून्यप्रसाद रेग्मी, डा. कृण्णप्रसाद पौडेल, सुरेन्द्रविक्रम शाह, मुक्ति प्रधान, डा. पदम शाही, डा. कुसेन्द्र महत, गोविन्द वन्दी छन्।

सरकारका प्रवक्ता एवम् कृषि व्यवस्था, भूमि तथा सहकारी मन्त्री विमला केसीका अनुसार विज्ञ समूहमा आवश्यकता अनुसार अन्यलाई पनि थपिने छ। मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश मुद्रण सम्वन्धी विधेयक २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश उद्धार तथा राहत कोष संचालन निर्देशिका २०७५ स्वीकृत गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन्, क्रसिङ विक्री वितरण तथा क्रसर उद्योग स्थापना र संचालनलाई व्यवस्थित गर्ने कार्यविधी २०७५ लाई स्वीकृत प्रदान गरेको छ। 

‘कर्णालीलाई खेलकुदमा अब्बल बनाउँछौं’
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्वल बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन्। नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको ‘पुम्से सेमिनार’को उद्घाटन गर्दै मन्त्री रावलले सिमित बजेटका वावजुत खेल क्षेत्रको बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री रावलले हुम्लामा ‘हाई अल्टिच्यूट कर्वड हल’, सुर्खेतमा राष्ट्रियस्तरको बहुआयामिक रंगशाला निर्माणलगायतका पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको बताए। कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् खेलाडीहरुको सहभागीता रहेको थियो। 
 

 

प्रकाशित: १७ भाद्र २०७५ १२:४८ आइतबार

कर्णाली_प्रदेश मन्त्रीपरिषद_बैठक