राजनीति

नेपाल र श्रीलंकन राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध बारे कुराकानी

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएकाे छ। त्यस अवसरमा नेपाल–श्रीलंका सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचार विमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो। राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन्।

नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलङ्काको बन्दरानायके अन्तर्राष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको छ। उक्त समझदारी पत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि श्रीलङ्काली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरे।

त्यसैगरी दुई देशबीच युवा विकास सम्बन्धी समझदारी भएको छ। आपसी सहयोग सम्बन्धी समझदारी पत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे।

दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेकाे थियो।

यसैबीच राष्ट्रपति भण्डारीले आफ्ना श्रीलङ्काली समकक्षीको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना समेत गरिन्।रासस

प्रकाशित: १६ भाद्र २०७५ १५:३८ शनिबार

राष्ट्रपति विद्यादेवी_भण्डारी मैत्रीपाल_सिरिसेना भेटवार्ता