राजनीति

संघले संघीयता बुझेन : मुख्यमन्त्री गुरुङ

फाइल तस्विर

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघले नै संघीयताको मर्म नबुझ्दा प्रदेश अप्ठेरोमा परेको गुनासो गरेका छन्। अधिकार विकेन्द्रिकरण, राजस्व बाँडफाँटमा कञ्जुस्याईं, प्रशासनिक अधिकार नदिनु संघीयताको मर्मविपरित भएको उनले बताए। संघ सरकारले नै संघीयता नबुझ्दा यो असफल हुन सक्ने उनले संकेत गरे। काठमाडौंमा बस्ने मान्छेले संघीयताको विषयमा संकीर्ण सोच राखेकै कारण प्रदेशले काम गर्न नसकेको उनले बताए।

‘संघीयता सफल बनाउन प्रदेश सफल हुनुपर्छ, प्रदेशलाई अधिकार विहिन बनाएर संघीयता कसरी सफल हुन्छ ?’ गुरुङले प्रश्न गरे, ‘केही जाती, क्षेत्र देखाएर सिंहदरबारले अधिकार आफैमा केन्द्रित गरेको छ, संघीयताको मर्म भनेको नै अख्तियार विकेन्द्रिकरण हो भन्ने कुरा केन्द्रले किन बुझ्दैन ?’ गुरुङले अघी थपे। 

शुक्रबार सातै प्रदेशका मुख्य न्यायधीवक्ताको सम्मेलनमा बोल्दै गुरुङले भने, ‘स्थिरता, शान्ति, समृद्धि र न्यायिक स्वतन्त्रताको परिकल्पना गर्न संघीयता ल्याईएको हो, संरचनागत, प्रशासनिक सुधारको विकल्प, नयाँ शासन प्रणालीको विकल्पको रुपमा संघीयता आएको हो, यसको अरु विकल्प छैन्, यसको सफलताको लागि सबैको सहयोग अनिवार्य छ।’ तर, केन्द्र सरकारले संघीयताको मर्म नै नबुझी चुत्थो व्यवहार गरेको उनको आरोप छ। समृद्ध प्रदेशको नारा लिईरहँदा प्रदेशलाई नै स्थानीय तहको भन्दा कम अधिकार दिईएको गुरुङले बताए। ‘प्रदेश सरकारले मात्र लगाउने कर भनेको कृषिमा हो, सबै जग्गा बाँझिदै गएका छन्, कृषिबाट कति पो कर उठ्छ र देश समृद्ध बन्छ, स्थानीय तहको भन्दा कम अधिकार दिने अनि समृद्धि खोज्ने ?’ उनको प्रश्न थियो। 

राजस्व बाँडफाँटको विषयमा पनि गुरुङले केन्द्र सरकारको आलोचना गरे। ‘७ सय ६१ वटा सरकार छन्, ती मध्ये ७ सय ५३ स्थानीय सरकारले १५ प्रतिशत र ७ प्रदेश सरकारले १५ प्रतिशत मात्र पाउने अनि बाँकी एउटा सरकारले चाहिँ ७० प्रतिशत लिने?’ संघीयतामा गयौँ भन्ने अनि एकात्मक राज्य जस्तो व्यवहार किन? संघीयताको विशेषता यही हो?’ गुरुङले आक्रोश पोखे।

प्रकाशित: १५ भाद्र २०७५ १३:४४ शुक्रबार

गण्डकी_प्रदेश पृथ्वीसुब्बा_गुरुङ