राजनीति

सम्बन्ध बलियाे हुन 'पिपल टु पिपल कनेक्सन' अावश्यक : माेदी

तस्विर : भारतीय राजदुतावास

काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सम्बन्ध बलीयो हुन 'पिपल टु पिपल' कनेक्सन हुन आवश्यक रहेको बताएका छन्। काठमाडौंको पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री पशुपती धर्मशालाको उद्घाटन समारोहमा बोल्दै मोदीले दुई देशका सरकारबीच मात्रै कनेक्सन भएर सम्बन्ध बलियो नहुने बताए। 'यसका लागि दुई देशका जनताबीच धार्मिक तथा सांस्कृतिक रुपमा पिपल्स टु पिपल्स कनेक्सन हुन आवश्यक छ' मोदीले भने। 

आफु काठमाडौं आउँदा सधै आत्मिय र न्यानो स्वागत पाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथ र यसअघि नेपाल अाउँदा मुक्तिनाथको दर्शन गर्न पाउनु आफ्ना लागि ठुलो अवसर भएको बताए। नेपाल हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि पावन भुमि भएको भन्दै प्रधानमन्त्री मोदीले यि दुई धर्म र धर्मावलम्बीहरुबीच रहेको सम्बन्ध विश्वकै अनुपम रहेको बताए।

पशुपतिको भुमिमा बिमस्टेक सम्मेलन गरिएको बताउँदै प्रधानमन्त्री मोदीले भगवान पशुपतिको भुमिमा गरिएका सम्पूर्ण प्रतिबद्धताहरु पुरा हुनेमा विश्वास व्यक्त गरे।  

धर्मशालाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्घाटन गरेको हुन्। निर्मित धर्मशाला ४ सय सैय्याको रहेको छ। २२ करोड नेपाली रुपैयाँमा भारतीय अनुदानमा निर्मित धर्मशाला १० हजार ६ सय २५ वर्ग मिटरमा फैलिएको छ। सन् २०१६ सालदेखी निर्माण सुरु गरिएको धर्मशाला शुक्रबार भारतले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेकाे हो । 

 

प्रकाशित: १५ भाद्र २०७५ १२:१७ शुक्रबार

नरेन्द्र_माेदी धर्मशाला पशुपति