राजनीति

यस्तो छ बिमस्टेक शिखर सम्मेलनको तालिका

काठमाडौं-  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्। सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका छन्।

सदस्य राष्‍ट्रका प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दिवाभोजको आयोजना गरेकी छन्। यस अघि उनीहरुबीच शीतल निवासमा शिष्टाचार भेट भएको थियो।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिने छन्।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने छन्। बिमस्टेकको अध्यक्षता गरेको देश नेपालका प्रधानमन्त्री ओलीले २२ मिनेट सम्बोधन गर्ने छन्। सदस्यदेशका प्रमुखहरुले १५ मिनेट मन्तव्य दिने छन्।

आजको औपचारिक कार्यक्रम साँझ ६ बजे सकिएसँगै प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा अतिथीहरु सहभागि हुने छन्। शुक्रबार बिहान ११ बजे बिमस्टेकको दोस्रो सेसन सुरु हुने छ।

महत्वपूर्ण विषयमा हस्ताक्षर गर्दै काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ। सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ। 
 

 

प्रकाशित: १४ भाद्र २०७५ ०७:४६ बिहीबार

बिमस्टेक तालिका