राजनीति

विश्वकर्मालाई थुनामा राख्न तेस्रो पटक म्याद थप

नुवाकोट– आगजनी अभियोगका आरोपित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले बुधबार तेस्राे पटक तीन दिन थुनामा राख्न आदेश दिएको छ। 

गएको शुक्रबार भदौं ८ गते जिल्ला अदालतले तीन दिनको लागि अनुमती दिएकोले थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानको प्रक्रिया जारी रहेको भन्दै १० गते फेरी म्याद थपेर उनलाई थुनामा राखिएको थियो। 

साउन ७ गते बेलकोटगढी नगरपालिका ९ स्थित धमले–दुईपिपल सडक निर्माण गर्ने नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी भएको थियो। ती दुई स्काभेक्टरमा उनको नेतृत्वमा आगजानी भएको भन्ने अभियोग लागेकोले अनुसन्धानको कार्यलाई जारी राखेको छ। 

नागार्जुन कन्सट्रक्सन प्रालिलाई स्काभेक्टरमा आगलागी हुनु अघि ‘बिप्लव’ नेतृत्वले चन्दा मागेको र नदिए पछि घटना घटाएको भन्ने विषयमा मुद्दा दर्ता भएको थियो। घटनामा उनीसहित नेकपाको महासचिव नेत्रविक्रम चन्द, नुवाकोटका सेक्रेटरी सागर तिमिल्सिना, महिलासंगठनका नेता सबिता तामाङ, नुवाकोट जनसरकार प्रमुख विन्तोष सिलवाल सहित १५ जनालाई विपक्षी बनाएर अनुसन्धान गरिरहेको  नुवाकोटका प्रहरी प्रमुख बसन्त कुंवरले बताएका छन्। 

उनीहरु विरुद्ध ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ।

प्रकाशित: १३ भाद्र २०७५ १२:०७ बुधबार

नेकपा खड्ग_विश्वकर्मा अदालत