राजनीति

श्रीमती छोडेर भागे सिडिओ र प्रहरी प्रमुख !

सीमा प्रहरी चौकी हिल्सामा सिडियाे र डिएसपीका श्रीमती घेराउ गर्दै स्थानीय महिलाहरु ।

हुम्ला– सीमा सुरक्षा वार्ता लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर  भागेका छन्। सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टाली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो। 

नेपाल र चीनको सिमाना हिल्सामा बसोबास गर्ने स्थानीयसंगै सम्पूर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल गरिदिन वार्ता लागि ताक्लाकोट हिडेको टोलीलाई स्थानीय महिलाले आफूहरुको दुःख पीडा चिनियाँ अधिकारीलाई सुनाइदिन आग्रह गर्दा ‘जुन ठाउँका बासिन्दा हो त्यही ठाउँ गएर बस’ भनेर हप्काएपछि स्थानीय महिलाहरु आकोशित बनेका हुन्। 

बर्षेनी जिल्लाका सिडिओ, प्रहरी प्रमुख (डिएसपी), एलडिओले सीमा वार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने बाहेक अन्य कुनै उपलब्धी नभएको र यसपटक वार्ता टोलीले हप्काएको भन्दै आक्रोशित महिलाहरुले ताक्लाकोटबाट फर्किएलगत्तै टोलीका सदस्यलाई हिल्सामा घेराउ गरी रोके। 

सीमा क्षेत्रमा हुने सबै समस्या समाधान नहुँदासम्म हेलिकप्टर पनि चढ्न नदिने र हिल्साबाट सदरमुकाम सिमकोट आउने नदिने भन्दै नाराबाजीसहित महिलाहरुले वार्ता गर्न गएको टोली बसेको स्थान सीमा प्रहरी चौकी हिल्सा घेरेपछि आफूसँगै रहेका श्रीमतीलाई हिल्सामै छोडी प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना र प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठ भागेको नाम्खा गाउँपालिका १ हेप्काकी पेमाआङमु लामाले बताइन्। 

प्रमुख जिल्ला अधिकारीको टोलीले हिल्साका स्थानीयको माग सम्बोधन नगरेसम्म उनीहरुका श्रीमतीलाई हिल्साबाट नछोड्ने नाम्खा गाउँपालिका ३ च्यादुककी धोङजुङ लामाले बताइन्। 

स्थानीयको आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी ढुंगानाकी श्रीमतीले हिल्साबासीको माग सम्बोधन आफूले गर्न लगाउने आश्वासन दिएपछि उनीसहित डिसएसपी श्रेष्ठकी श्रीमतीलाई सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाको पहलमा हिल्साबाट सिमकोट ल्याउने पहल भएको छ। सीमाको समस्या समाधान गरीदिन अनुरोध गर्दा उल्टै सिडिओले ‘तिमीहरु आफ्नै गाउँ गएर बस, अनि समस्या हुँदैन्’ भन्ने जवाफ दिएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको लामाले बताइन्। 

यस बिषयमा प्रमुख जिल्ला अधिकारी ढुंगानाले जहाँ जहाँ मान्छे छन्, जहाँ जहाँ बस्ती छ, त्यहाँ गएर सबैको समस्या समाधान गर्न नसकिने र समस्या समाधानका लागि कार्यालयमै आउनुपर्ने धारणा राखे। ‘सीमाबासीले आफ्नो माग पुरा गर्न जुन तरिका अपनाए त्यो गलत हो, यसरी कसैको माग पुरा हुँदैन्’, उनले भने। आफूसँग कसैले यस्तो माग नराखेको र यसरी कसैलाई घेराबन्दी गर्न नपाइने उनको भनाई । आफूहरु हिल्साबाट भागेको नभई ठाउँ ठाउँमा रहेका प्रहरी चौकी निरीक्षणका लागि हिडेको उनले दाबी गरे।

यो समस्या यस वर्षको मात्र होइन, वर्षेनी सीमा वार्ताका नाममा प्रमुख जिल्ला अधिकारीको टोलीले आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने र स्थानीयवासीले दुःख पाउने परम्परा चलिरहेको छ। चिनियाँ पक्षले वार्ताका लागि प्रहरी प्रमुखसहित तीन अफिसरलाई वार्ताका लागि बोलाएपनि प्रजिअ ढुंगाना, डिएसपी श्रेष्ठ र जिल्ला अनुसन्धान प्रमुख तिलक केसी दम्पत्तीसहित ताक्लाकोट गएका थिए। 

प्रकाशित: १२ भाद्र २०७५ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App