राजनीति

निराश जनता खतरनाक हुन्छन् : प्रधानमन्त्री अाेली

काठमाडौं - सरकारको नेतृत्व गरेको छ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्ततादेखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन्।

प्रधानमन्त्री ओलीले झन्डै तीन घण्टा लामो अन्तक्रियाका क्रममा भने, ‘निराश जनता खतरनाक हुन्छन्।’ सम्पादकहरुलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूले देखेका र लागेका कुरा लेख्नुहोस् तर त्यसले जनतामा निराशा भएमा के हुन्छ भन्नेमा विचार गर्नुपर्छ।’

एउटा व्यक्ति निराश भए आत्महत्या गर्ला तर पूरै नागरिक निराश भए मुलुकको विनाश हुन सक्ने धारणा ओलीको थियो।

प्रधानमन्त्री केपी ओलीले सम्पादकहरुसँग भने, ‘तपाईंहरूले देखेका र लागेका कुरा लेख्नुहोस् तर त्यसले जनतामा निराशा भएमा के हुन्छ भन्नेमा विचार गर्नुपर्छ ।’

छलफलको थालनी मुलुकमा राणाशासनदेखि भएको राजनीतिक परिवर्तनबाट गरेका प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै देशलाई माया गर्छौं। लोकतन्त्रका लागि हामी सबैको योगदान कमबेसी हुन सक्छ तर हामीले तराजु बोकेका छैनौं।’

आफूले पिउने नाममा पानी र चियामात्र पिउने गरेको उल्लेख गर्दै आफूसँग समय भएकाले अध्ययन गर्ने गरेको ओलीले बताए। आफूले अखबार पढ्दा ‘त्यो लेखाइमा व्यवस्थापनको तरिकाअनुसार’ पाएको उल्लेख उनले गरे। आफूले तराईमा भएको मानव साङ्लोलाई ‘माखे साङ्लो’ र केही व्यक्तिको निधनमा ‘एकदुई आँप झर्छन्’ भनेको भनी प्रचार गरिएको रुपमा व्याख्या गरिएको प्रसंगसमेत उनले उल्लेख गरे।

सरकारका पछिल्ला गतिविधिका कारण नागरिक अधिकारमा अवरोध आउन खोजेको हो कि भन्ने प्रश्न चौतर्फी उठिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यान्वयनका लागि सम्मानपूर्ण जीवनको आवश्यकताबारे ओलीले चर्चा गरे। ‘प्रशस्त सम्पत्ति भएर पनि अपमानित भए सुखी हुन सकिँदैन, जैविक र मानवीय इच्छा पूरा भए पनि सुखी हुन सकिँदैन,’ उनले भने, ‘हाम्रा पुर्खाले त्यसैलाई सर्वे भवन्तु सुखिनः (सबै सुखी रहून्) भनेका हुन्।’

हिंसाको खेती
अहिले केही ‘तत्व’ हिंसालाई खेती बनाउन लागिरहेको गुनासो प्रधानमन्त्री ओलीको थियो । यी तत्वलाई ककसको साथ सहयोग छ, भन्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘मुलुकविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ।’ देश टुक्र्याउन खोज्ने अभिव्यक्ति दिने र बल नपुगुन्जेल शान्तिपूर्ण भनिरहेको उल्लेख गर्दै माओवादीले पनि आफ्नो बल नपुगुन्जेल शान्तिपूर्ण भन्ने गरेको दृष्टान्त उनले दिए। ‘माओवादीलाई नेपाली सेनाको जागिर खाएर सेनाका जर्नेलले गाडीमा हालेर कुद्ने गर्थे,’ उनले भने, ‘त्यसकारण अहिलेको अस्थिरतामा पनि ‘लिंकेज’ छ, त्यो अहिले बताउँदिनँ । तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ । जहाँ नपहुँचे रवि उहाँ पहुँचे पत्रकार।’

‘हामीलाई एकताबद्ध हुन नदिने, राष्ट्रलाई शान्त हुन नदिने, जनतालाई त्रसित बनाउने तत्व छन्,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले नाम नलिईकन नेकपा (विप्लव) को प्रसंग उल्लेख गरे। उसले तोडफोड र बम विस्फोट गरेको चर्चा गर्दै भने, ‘बिग मिडिया हाउससमेत पैसा तिरेर बाँचेका छन्, लेख्न सक्दैनन्।’

‘सबैभन्दा जुँगा उखेल्न सकिने यही सरकार छ,’ ओलीले भने। उनले बच्चा लड्दा पनि आमालाई ड्याम्म कुट्न आएजस्तो अवस्था सरकारको रहेको बताए।

भ्रष्टाचारमा शून्य सहनशीलता
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ,’ ओलीले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता छ।’ भ्रष्टाचारको मामिलामा आफूले कदम चाल्नुपर्ने बेलामा कसैको अनुहार नहेर्ने दृढता प्रधानमन्त्रीले व्यक्त गरे। तर आफूले नियुक्ति दिएका व्यक्तिले पनि काम नगरेपछि हटाउन खोज्दा अदालतले पुनस्र्थापित गरेको उनले बताए। ‘देशलाई काम चाहिएको छ, एउटा व्यक्तिको कामको सुनिश्चितताले देश विकासमा बाधा परेको छ,’ उनले भने, ‘भ्रष्टाचार भइरहेको छ।’

उनले मुलुकमा तयार भएको कलंकीको पहिलो ‘अन्डरपास’ बारे एकजना व्यंग्य लेखकले लेखेजस्तै पहिलो नभएको ठट्यौली पनि प्रधानमन्त्रीले गरे। प्रत्येक टेबुलमुनि ‘अन्डरपास’ रहेको भन्ने व्यंग्यकारको अभिव्यक्तिसँग आफू पनि सहमत भएको उनले बताए। ‘मैले देखेको छैन, प्रमाणबाट मैले देखें भने, यहाँहरूले भनेर पनि देखेँ भने पनि म आक्रामक हुनेछु,’ उनले भने।

मुलुकी कानुन
मुलुकले अवलम्बन गरेको फौजदारी र देवानी कानुनले प्रेसलाई पारेको अप्ठ्यारो संशोधन गर्न सकिने ओलीले बताए। गत वर्ष पास भई २०७४ असोज ३० मा यी कानुनमा लालमोहर लाग्दा आफू निर्वाचनमा व्यस्त रहनुपरेको उनले उल्लेख गरे। ‘अहिले लोकतन्त्र खोसिन लाग्यो भनेर कार्यान्वयन हुने बेलामा बेस्सरी विरोध भएको छ,’ उनले भने, ‘सरकार, त्यसमा पनि प्रधानमन्त्रीको अनुहार हेरर लोकतन्त्र खोसिन लाग्यो भनियो।’ उनले यो धर्मशास्त्र रचना गरेजस्तो नभएको बताउँदै नागरिकलाई अधिकार सम्पन्न बनाउन यसलाई ल्याइएको बताए।

लेनिनमाथि अन्याय
पूर्वबालसेनिक लेनिन बिष्टलाई थाइल्यान्डको राजधानी बैंकक जान रोकिएको विषयमा आफूले थाहा पाएपछि २४ घण्टाभित्र स्पष्टीकरण दिन गृहलाई लेखी पठाएको जानकारी प्रधानमन्त्री ओलीले दिए। यो विषय आफूलाई पहिल्यै जानकारी नभएको उनले उल्लेख गरे।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको विषयमा सरकारको बचाउ गर्दै आफूले तत्कालै नबोलाएको उल्लेख गरे।

निर्मलालाई न्याय
कञ्चनपुरकी १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कार र हत्याको मुद्दामा प्रहरीले सुरुमा गरिरहेको छानबिन ठीकै होला भनेर प्रतीक्षा गरेको र पछि स्थानीयको विरोध भएपछि थप अनुसन्धान सुरु भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। यस्ता घटनामा सुरुमा प्रहरीलाई विश्वास गर्नुपर्ने अवस्था रहेको उनले बताए। त्यही भएर जसलाई आवश्यक पर्छ, त्यसलाई कारबाही गर्ने भनिएको पनि उनले बताए।
माइतीघर मण्डल
माइतीघर मण्डल पवित्र ठाउँ भएकाले त्यहाँ जुलुस गर्ननहुने अडानलाई ओलीले दोहो-याए। त्यो ठाउँको अवस्था, ट्राफिकको स्थिति आदिका आधारमा रोक लगाएको उल्लेख गर्दै उनले सर्वोच्चको आदेशपछि त्यो ‘गौरवपूर्ण परम्परा’ निरन्तर भएको बताए।

प्रकाशित: १२ भाद्र २०७५ ००:४० मंगलबार

प्रधानमन्त्री_केपी_शर्मा_ओली मुलुकको_स्थिति सरकार नेतृत्व