राजनीति

कर्फ्यूले महेन्द्रनगर फेरि सुनसान

महेन्द्रनगर – आइतबार बिहान ५ बजेदेखि ९ बजेसम्म खुलेको महेन्द्रनगर बजारको कर्फ्यू पुनः १० बजेदेखि सुरु भएको छ। कर्फ्यू खुलेलगत्तै बिहान ५ बजेदेखि चहलपहल बढेको महेन्द्रनगर बजार अहिले फेरि सुनसान बनेको छ।

जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा बिहानैदेखि आफन्तको घर तथा मन्दिर गएकाहरु हतारहतारमा घर फर्के। ‘बिहान १० बजेदेखि नै बजार तथा मन्दिर गएकाहरुलाई प्रहरीले घर फर्कन भन्दै आदेश दिँदै थियो,’ स्थानीय मनमोहन पन्तले भने, ‘जनैपूर्णिमाका लागि मन्दिर गएकाहरु बिहानै हतारमा जनै फेरेर घर फकिए।’

गत आइतबारदेखिको लगातारको आन्दोलनले बन्द रहेको बजार र शुक्रबारदेखि सुरु भएको कफ्र्युले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। दैनिक उपभोग्य सामान सकिएर डेरा लिएर बसेका विद्यार्थी, कर्मचारी सबैभन्दा बढी मर्कामा परेका छन्। ग्यास सकिएर साथीको कोठामा खाना पकाइरहेको बताउँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी सपना शाहले बताइन्। उनले भनिन्,‘कोठामा ग्यास मात्रै हैन तरकारी पनि सकिएको छ।’ कर्फ्यूले तरकारी किन्न नपाउँदा सुख्खा दालभात मात्रै खानु परेको उनले दुखेसो पोखिन्।

कर्फ्यूले विद्यालय बन्द भएपछि बिहान केही समय खुकुलो बनेको कफ्र्युको मौका छोप्दै आफू घर फर्केको डेरागरी बस्ने विद्यार्थी मनिष भट्ट बताउँछन्।

प्रकाशित: १० भाद्र २०७५ ०७:३३ आइतबार

कर्फ्यू महेन्द्रनगर