राजनीति

‘प्रेसमा अंकुश’

काठमाडौं - छापा र अनलाइनका सम्पादकहरूले भदौ १ देखि लागू भएको अपराध संहितामा राखिएका केही प्रावधान प्रेस स्वतन्त्रताविरुद्ध भएको निष्कर्ष निकालेका छन्। नेपाल पत्रकार महासंघद्वारा आयोजित सम्पादक एवं महासंघका पूर्वअध्यक्षहरूसहितको छलफलमा अपराध संहिताका केही दफाले प्रेस स्वतन्त्रतामा अंकुश लगाएको निष्कर्ष निकालिएको हो।

महासंघका पूर्वअध्यक्ष एवं सम्पादकहरूले अपराध संहिताको अनुसूची १ मा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ समेत राखिएकोमा आपत्ति जनाएका छन्। अपराध संहिताका दफामध्ये राजद्रोह, सामाजिक र राष्ट्रिय सुरक्षासम्बन्धी विषय, धार्मिक दुष्प्रचारसँग सम्बन्धित विषय, घृणा गर्ने अभिव्यक्ति, गाली बेइज्जती, गोपनीयताका विषयले अभिव्यक्ति स्वतन्त्रतालाई असर गर्ने सम्पादकहरूको निष्कर्ष छ। पत्रकारितालगायत प्रकाशन र प्रसारणमा हुने कसुरमा फौजदारी कानुन लाग्न नहुने जिकिर उनीहरूले गरेका छन् । अन्य देशमा पनि फौजदारी कानुन निरुत्साहित हुँदै गइरहेका बेला नेपालमा प्रेस स्वतन्त्रतामा असर पर्ने कानुन बनाउन नहुने भनाइ सम्पादकहरूको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले अपराधसंहितामा भएका केही प्रावधान संविधानको धारा १७ (२) मा रहेको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताए। ‘संविधानको सीमाबाहिर गएर गरिएको कानुनी व्यवस्था आपत्तिजनक छ,’ उनले भने, ‘देवानी संहितामा कसुर राखियो भने पक्ष अदालत जान्छ, विपक्षले आफ्नो कुरा राख्न, भन्न पाइन्छ । तर, फौजदारीमा अपराध संहितामा राख्नासाथ सीधै जेल जानुपर्ने भएकाले आपत्तिजनक छ।’

प्रेस स्वतन्त्रतामा असर पार्ने दफा
अपराध संहिताको दफा ५०, ५८, ६५, ७०, ११९, १२१, २९३, २९४ र २९५ मा राखिएका प्रावधानले प्रेस स्वतन्त्रतामा अंकुश लगाउन सम्पादकहरूको ठहर छ । दफा ५० मा लेखिएको छ, ‘नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीका सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न गराउन हुँदैन।’

त्यस्तै दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने व्यवस्था छ । यस दफामा लेखिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

अपराध संहिताको दफा ६५ मा सार्वजनिक शान्ति खलल पार्न नहुने शीर्षकमा लेखिएको छ, ‘कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन ।’ त्यस्तै दफा ७० मा झुटो अफबाह फैलाउन नहुने शीर्षकअन्तर्गत लेखिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह पैmलाउन, प्रचारप्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’

यसैगरी दफा ११९ मा वेश्यागमनको प्रचार गर्न नहुने शीर्षक राखिएको छ । यो दफामा लेखिएको छ, ‘कसैले वेश्यागमनका लागि प्रचारप्रसार गर्न हुँदैन।’

त्यस्तै दफा १२१ मा अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने शीर्षकमा कसैले सार्वजनिक रूपमा अश्लील किताब, पर्चा बनाउनेलगायत काम गर्न नहुने उल्लेख छ । दफा १२१ को (क) मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न नपाइने उल्लेख छ।

गोपनीयताविरुद्धका कसुर
यसैगरी अपराध संहिताको दफा २९३ मा अर्काको कुरा सुन्न वा ध्वनि अंकन गर्न नहुने उल्लेख छ । कसैले दुई वा दुईभन्दा बढी व्यक्तिबीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न नहुने व्यवस्था यस दफामा गरिएको छ।

दफा २९४ मा गोप्य कुरा प्रकट गर्न नहुने विषयमा यस्तो लेखिएको छ– कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन।

दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने लेखिएको छ । यस दफामा लेखिएको छ– कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरु कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन।

अपराध संहिताका यिनै दफामा टेकेर पत्रपत्रिका, अनलाइन, रेडियोमा प्रकाशित/प्रसारित विषयवस्तुलाई लिएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न सक्ने भन्दै पत्रकार महासंघले संशोधनको माग गरेको छ।

प्रकाशित: १० भाद्र २०७५ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App