राजनीति

नीतिविपरीत रेडियो नेपालको जग्गा भाडामा

काठमाडौं - सरकारले २०६७ मा सरकारी जग्गा भाडासम्बन्धी नीति बनाएको थियो। उक्त नीतिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित संघसंस्था, कार्यालय, संस्थानलगायतले नेपाल सरकारको स्वीकृतिबिना घरजग्गा भाडामा दिन नपाउने व्यवस्था छ। तर, खुमलटारमा रहेको रेडियो नेपालको जग्गा प्रधानमन्त्री कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयलगायत कुनै पनि निकायको स्वीकृतिबिनै भाडामा लगाउने कार्य भएको छ। अनुमतिबिना जग्गा भाडामा दिएको खुलेपछि प्रधानमन्त्री कार्यालय, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतले त्यसको जवाफ रेडियो नेपालसँग मागेका छन्।

उक्त जग्गा भाडामा दिने विषयमा अर्थ मन्त्रालयले २०६९ जेठ १६ मा पत्र काटेको थियो । उक्त पत्रमा रेडियो नेपालले खुमलटारमा रहेको ४२ रोपनी जग्गा संघसंस्था वा कुनै कम्पनीलाई भाडामा लगाउन नहुने उल्लेख छ । त्यति बेला वर्षमान पुन अर्थमन्त्री थिए । मन्त्रीले पत्र काटेपछि जग्गा भाडामा दिने प्रयास रोकिएको थियो । सो जग्गा दैवीप्रकोप वा अन्य सरकारी प्रयोजनका लागि राख्ने सहमति पनि भएको थियो।

रेडियो नेपालको ४२ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएको निजी कम्पनीले एक वर्षको भाडा नतिरेको भेटिएको छ । कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको एकल निर्णयपछि भाडामा लिएको कुबेर ज्ञान हाउजिङले भाडै नतिरी संरचना खडा गर्न थालेको खुलासा भएको हो।

०७२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि सरकारले रिङरोड आसपासका जग्गा भाडामा नलगाउन सबै निकायलाई पत्र काटेको थियो। उक्त निर्णयबमोजिम पुनर्निर्माण प्राधिकरणले जग्गा भाडामा नलगाउन भन्दै संस्था, समिति, मन्त्रालय, विभाग, कार्यालयलगायतलाई २०७३ मै कडा निर्देशनसहित परिपत्र गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी रामेश्वर दंगालले यसबारे अनुसन्धान भइरहेको बताए। उनले अनुसन्धान प्रक्रिया टुंगिएपछि मात्रै जग्गा भाडाको अनियमितताबारे थाहा हुने जानकारी दिए। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यदि निर्णयविपरीत काम भएको रहेछ भने उक्त जग्गा खाली हुन्छ।’ उनका अनुसार आयोगले जग्गा भाडा रोक्का गर्न र त्यस क्षेत्रमा रहेको बाँकी जग्गा भाडामा नलगाउन समेत पत्र पठाइसकेको छ।

अर्थ मन्त्रालयकी सूचना अधिकारी चन्द्रकला पौडेलले यसबारे अर्थ मन्त्रालयले चासो दिएको बताइन्। ‘पहिला पनि उक्त जग्गा भाडाबारे धेरै निर्णय भएका रहेछन्, अर्थ मन्त्रालयले भाडामा नलगाउनु भनेर पत्र पनि पठाएको छ,’ उनले भनिन्, ‘यदि सबै काम निर्णयविपरीत भएको रहेछ भने त्यसलाई फिर्ता गर्नुपर्छ।’

तर यी सबै निर्णय कुल्चिएर रेडियो नेपालको जग्गा भाडामा लगाइएको छ। कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले खुमलटारमा रहेको ४२ रोपनी जग्गा कुबेर ज्ञान हाउजिङलाई ३० वर्षका लागि भाडामा दिएका छन्। उक्त जग्गा भाडामा दिँदा उनले कुनै सरकारी निकायको स्वीकृतिसमेत लिएका छैनन्।

उक्त जग्गा भाडा दिने विषयमा २०६८ चैत २ गते रेडियो नेपाल सञ्चालक समिति बैठकमा छलफल भएको थियो । छलफलमा अर्थ मन्त्रालयसहित अन्य सरकारी निकायको स्वीकृति लिएपछि मात्रै भाडामा लगाउने निर्णय पनि भएको थियो।

गत वर्ष हालका कार्यकारी निर्देशक कार्कीले निजी हाउजिङ कम्पनीलाई जग्गा भाडामा दिएपछि यो विषयमा विवाद हुँदै आएको छ। जग्गा भाडा प्रकरण विवादमा आएपछि वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा छानबिन समिति पनि बनेको छ। उक्त समितिले रेडियो नेपालभित्र भएको अनियमितता र भ्रष्टाचारका सम्बन्धमा अध्ययन गरी ८४ पानाको अध्ययन प्रतिवेदन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासमक्ष पेस गरिसकेको छ। तर, मन्त्रालयले यसबारे अन्य कदम अघि सारेको छैन । छानबिन समितिले बुझाएको प्रतिवेदनमा पछिल्लो समय रेडियो नेपालको भौतिक साधन स्रोत र जग्गा दुरुपयोग भएको देखिएको छ । रेडियो नेपालको प्रसारण पहँुच घटेको, सेवा विस्तार गर्न नसकेको र हालका कार्यकारी निर्देशक कार्कीले आर्थिक हिनामिना गरेको विवरण पनि प्रतिवेदनमा उल्लेख छ। सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जग्गा भाडामा दिँदा सञ्चार मन्त्रालयलाई जानकारी नगराइएको बताए। ‘यसबारे सञ्चार मन्त्रालयले चासो दिएको छ,’ उनले भने, ‘केही दिनभित्र यसबारे सही छानबिन गरेर टुंगोमा पुगिनेछ।’

ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुदर्शन मिश्रले त्यस जग्गालाई खुला छाड्नुपर्ने बताए। उनले वडा कार्यालयले जग्गा भाडामा दिने कामको विरोध गर्दै आएको बताए । ‘महानगर क्षेत्रमा आपद्विपद् पर्दा खुल्ला ठाउँको अभाव छ,’ उनले भने, ‘सरकारी निकायले आफ्नो जग्गा भाडामा दिँदा पनि स्थानीय निकायसँग स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ, तर यो जग्गा भाडामा दिँदा त्यसको परिपालना भएको छैन, त्यसैले यसलाई खाली राख्नुपर्छ।’

यसबारे कार्यकारी निर्देशक कार्कीले २० वर्षदेखि खाली रहेको जग्गा भाडामा दिनु कुनै नियमविपरीत नभएको बताए । उनले भाडा तिर्न कम्पनीलाई आग्रह गरिसकेको बताए। ‘कम्पनीलाई खाली रहेको जग्गा भाडामा लगाउनु ठूलो कुरा होइन,’ उनले भने, ‘यसले झन् आम्दानी बढाएको छ।’ उनले स्थानीयले हडप्न खोजेपछि निजी कम्पनीलाई नै भए पनि खाली जग्गा भाडामा दिएको जानकारी दिए।

भाडा नतिरी संरचना निर्माण गर्न छुट
रेडियो नेपालको ४२ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएको निजी कम्पनीले एक वर्षको भाडा नतिरेको भेटिएको छ । कार्यकारी निर्देशक कार्कीको एकल निर्णयपछि भाडामा लिएको कुबेर ज्ञान हाउजिङले भाडै नतिरी संरचना खडा गर्न थालेको खुलासा भएको हो। कम्पनीले लाखौं रकम भाडा नतिर्दा त्यसबारे सञ्चालक समितिले भाडा तिराउन ताकेता गरेको छैन।

कार्यकारी निर्देशक कार्कीले कम्पनीलाई नै छुट दिन खोजेको रेडियो नेपालकै एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार कार्यकारी निर्देशकले एकल निर्णय गरेर निजी कम्पनीलाई जग्गा भाडामा दिएका थिए। पछिल्लो समय कर्मचारी र अन्य सरकारी निकायको यसबारे ध्यानाकर्षण भएको छ। ‘कार्यकारी निर्देशकले न त भाडा तिराउनका सकेका छन् न त सरकारी जग्गाको संरक्षण नै गर्न सकेका छन्,’ ती कर्मचारीले भने, ‘एक वर्षको भाडा छुट दिनु भनेको चानचुने कुरा होइन, यसमा कार्यकारी निर्देशकले नै अनियमितता गरेको देखिन्छ।’

२०७४ जेठ २९ गते स्थानीय तह चुनावको मुखमै कुबेर ज्ञान हाउजिङललाई रेडियो नेपालले उक्त जग्गा भाडामा लगाएको थियो। कम्पनीसँग प्रतिरोपनी ४१ हजारका दरले भाडा तिराउने सम्झौता भएको थियो। तर, हालसम्म कम्पनीले कुनै रकम नबुझाएको रेडियो नेपाल सञ्चालक समितिले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७५ ००:५६ शनिबार

रेडियो_नेपाल जग्गा_भाडा