राजनीति

मृत्युदण्डको कानुन बनाउन संसदमा उठ्यो अावाज

काठमाडौं– पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारजस्ता घटनाका अपराधीलाई मृत्युदण्ड दिन मिल्ने व्यवस्था गराउने पहल थाल्न सरकारसँग माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा महिला विरुद्ध हुने हिंसा विरुद्धको संकल्पप्रस्ताव माथि छलफल गर्नेक्रममा तामाङले यस्तो व्यवस्थाका लागि अन्तराष्ट्रियस्तरमा जानुपर्ने सुझाव दिएका हुन्। ‘मृत्यु दण्डको कानुन बनाउनका लागि नेपालले अव संयुक्त राष्ट्रसंघमा प्रस्ताव लैजानुपर्छ,’ उनले भने। 

नेपालले मृत्यु दण्ड दिने गरी कानुन नबनाउने प्रतिवद्धता जनाएको छ । त्यहि प्रतिवद्दता उल्टाउने संयुक्त राष्ट्रसंघमा प्रोटोकल हाल्नु पर्ने उनको सुझाव थियो। ‘बलात्कार समाजलाई खत्तम पर्ने अपराध हो भने भ्रष्टाचार राज्यलाई सखाप पार्ने अपराध हो,’ संसदमा उनले भने, ‘यसर्थ बलात्कार र भ्रष्टाचारमा मृत्यु दण्डसम्म जानुपर्छ।’

सांसद वृन्दा पाण्डेले दर्ता गराएको उक्त प्रस्ताव माथिको छलफलमा सांसद शशी श्रेष्ठले पनि बलात्कारीलाई मृत्युदण्डको सजायको वकालत  गरेकी थिइन्। ‘बलात्कारका अपराधीलाई मृत्युदण्ड पनि कम हुन्छ,’ उनले भनिन। 

 

प्रकाशित: ८ भाद्र २०७५ १०:४९ शुक्रबार

मृत्युदण्ड संसद