राजनीति

प्राथमिकतामा चार अजेन्डा

काठमाडौं – भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यिनै मुद्दामा केन्द्रित भएर अहिले नेपालले आन्तरिक छलफल गरिरहेको छ।

‘बिमस्टेकलाई गतिशील, प्रभावकारी र नतिजमुखी बनाउन पहल भइरहेको छ,’ बिमस्टेक शिखर सम्मेलन तयारीबारे परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘यसपटक हामीले कनेक्टिभिटी, व्यापार तथा लगानी र बिमस्टके सदस्य राष्ट्रका समाजबीच हुने अन्तरक्रियालाई प्राथमिकतामा राखेका छौं।’

सम्मेलनमा तीन प्रकारका कनेक्टिभिटीलाई नेपालले प्राथमिकताका साथ उठाउने भएको छ । भौतिक, डिजिटल र मानव गरी तीन प्रकारका कनेक्टिभिटीलाई कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्नेमा नेपालले तयारी गरिरहेको छ । भौतिक कनेक्टिभिटीअन्तर्गत सडकमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्गलगायत समेटिएको छ । यस्तै, डिजिटल कनेक्टिभिटीमा इन्टरनेट, इमेललगायत भर्चुअल सञ्चारलाई समेटिएको जानकारी स्रोतले दियो।

सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

कनेक्टिभिटीको तेस्रो प्रकारमा बिमस्टेक सदस्य राष्ट्रका जनता–जनताबीच (मानव) को सम्पर्कलाई समेटिएको छ । जनता–जनताबीचको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, विश्वविद्यालय नेटवर्क, थिंक ट्यांक नेटवर्क, नीति निर्माताहरुको नेटवर्कलगायतलाई मानव कनेक्टिभिटीमा राखिएको छ । ‘केही मुद्दामा सदस्य राष्ट्रहरुबीच पहिलेदेखि छलफल हुँदै आएको छ । शिखर सम्मेलनका बेला थप छलफल हुन्छ र सहमतिमा पुग्ने सम्भावना पनि छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘बिमस्टेक सदस्य राष्ट्रलाई सडक, रेल, जल र हवाई मार्गबाट एकअर्कोमा जोड्न सके यो क्षेत्रमा विकासले थप गति लिने विश्वास हाम्रो छ।’

नेपालको दोस्रो प्राथमिकतामा परेको छ व्यापार तथा लगानी । बिमस्टेक क्षेत्रको साझा हित र समृद्धिका लागि व्यापार तथा लगानीलाई प्राथमिकता दिइएको स्रोतको भनाइ छ । सदस्य राष्ट्रबीच व्यापार विस्तार र लगानी बढाउने लक्षय लिइएको छ । स्रोतले भन्यो, ‘व्यापार र लगानी विस्तार गरी औद्योगीकीकरण गर्ने र औद्योगीकीकरणमार्फत रोजगार सिर्जन गरी गरिबी निवारण गर्ने लक्ष्य हामीले लिएका छौं।’

बिमस्टेकमा सहयोगका १४ वटा महत्वपूर्ण क्षेत्र निर्धारण गरिएको छ । निर्धारण गरिएका क्षेत्रमा व्यापार तथा लगानी, प्रविधि, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, माछापालन, कृषि, सांस्कृतिक सहायता, वातावरण तथा प्रकोप व्यवस्थापन, जनस्वास्थ्य, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध र जलवायु परिवर्तन छन् । यी १४ क्षेत्रमध्ये नेपालले गरिबी निवारणको नेतृत्व गरिरहेको छ । ‘गरिबी निवारणको लक्ष्य प्राप्त गर्न खासगरी औद्योगीकीकरण र रोजगारीमा जोड दिई क्षेत्रीय व्यापार र लगानीलाई प्रवद्र्धन गर्ने भन्ने छ,’ स्रोतले भन्यो।

बिमस्टेकलाई जीवन्त संगठन बनाउन सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया बढाउनुपर्ने मुद्दालाई पनि नेपालले प्राथमिकतामा राखेको छ । बिमस्टेक राष्ट्रका व्यापारिक, विज्ञ समूहलगायत फोरमलाई सक्रिय बनाउने लक्ष्य लिइएको छ । ‘यी मुद्दामा सबै सदस्य राष्ट्रहरुको सहमति छ, अब थप वार्ता गर्दै अघि बढ्ने हो । यीमध्ये केही कुरा घोषणापत्रमा आउन सक्छन् भने केहीमा सहमति हुनसक्छ । केहीमा थप अध्ययन गर्ने भनेर कार्यदल गठन हुनसक्छ,’ स्रोतले भन्यो।

यस पटकको शिखर सम्मेलनमा बिमस्टेक बडापत्रको विषयमा पनि छलफल हुने जनाइएको छ । स्रोतले भन्यो, ‘बडापत्र आजको भोलि हुने कुरा होइन, यसका लागि समय लाग्छ । अन्तर सरकारी संगठन बनाएर वडापत्रमा काम गर्न सकिने सम्भावना छ ।’ यस्तै, बिमस्टेक कोष स्थापना गर्ने कुरामा पनि अहिले सदस्य राष्ट्रबीच छलफल चलिरहेको छ । बिमस्टेकका गतिविधिलाई गति प्रदान गर्न कोष स्थापना गर्न खोजिएको हो।

‘रिट्रिट’ गोकर्णमा
सरकारले भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्डका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेको छ।

होटल सोल्टीमा बिमस्टेक सम्मेलन समापन भएपछि अतिविशिष्ट पाहुनालाई गोकर्ण रिसोेर्टमा रिट्रिट दिइनेछ । ‘बिमस्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिइने छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘मौसम प्रतिकूल रहेमात्र रिट्रिट रद्द हुन्छ । अन्यथा, गोकर्णमा दिने तयारी भइरहेको छ।’

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरीसेना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा काठमाडौं आउने छन्।

म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी जाने

भदौ १४ र १५ गते हुने बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँदा म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरीसेनाले लुम्बिनीको भ्रमण गर्ने भएका छन् । बिमस्टेक सम्मेलन सकिएपछि उनीहरु लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०१:२८ बुधबार

बिमस्टेक काठमाडौं कनेक्टिभिटी गरिबी_निवारण_मुद्दा