राजनीति

‘मोदी आउँदा पशुपति धर्मशालाको उद्घाटन हुने’

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन्।

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार पशुपति धर्मशालाले तीर्थयात्रीलाई बस्नको लागि सहज हुनेछ।

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुद भएर अघि बढाउनुपर्ने उनको सुझाव छ। सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा आफ्नो देशको सधैं साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए।

हुलाकी राजमार्गलगायत नेपालमा ठूलो परियोजनाहरु भारतीय सहायतामा निर्माणाधिन रहेको सुनाउँदै राजदूत पुरीले भने, ‘हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नको लागि आजै ४० करोडको चेक दिने कार्यक्रम छ। त्यस्तै भूकम्पपछिको पूर्ननिर्माणको लागि २ सय १० करोड रुपैयाँ दिईसकेका छौं। यसैगरी अरु किस्तापनि हामी छिट्टै प्रदान गर्छौं।’

१२ वर्षभित्र भारत–नेपाल रेलमार्गबाट पूर्ण रुपमा जोडिने 

यसअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यास भएको सुनाउँदै राजदूत पुरीले अब नेपाल–भारत आदान–प्रदानको लागि रेलमार्ग अघि बढ्ने पनि विश्वास दिलाए। उनले भने, ‘आर्थिक वृद्धि हाँसिल गर्नको लागि पनि रेलवेले महत्वपूर्ण योगदान पुर्याउँछ। जयनगरदेखि जनकपुरसम्म त रेलवे लाइन विछ्याउने काम भैसकेको छ। आगामी केही महिनामै नेपालमा रेल सञ्चालनमा आउँछ। जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन गर्नुपर्छ।’ आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्ण रुपमा जोडिने उनको दाबी थियो। 

त्यस्तै पुरीले विराटनगरमा छिट्टै रेलवे सञ्चालन हुने बताए। उनले भने, ‘यो रेलवे सञ्चालनमा आयो भने सामानहरु ओसारपोसार गर्न सहज हुन्छ। यसले भारतीय रेल सञ्जालसँग जोड्नपनि महत्वपूर्ण भूमिका खेल्छ। निर्यात तथा आयात बढ्छ भन्ने हाम्रो विश्वास छ।’ 

प्रकाशित: २९ श्रावण २०७५ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App