राजनीति

भरत शमशेरको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ- राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले पारित गरेको हो।

विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो। पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता थिए भने पछि गोर्खा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए।
बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाएका स्व राणाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गर्‍यो। राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ बजे बस्नेछ। 
 

 

प्रकाशित: २८ श्रावण २०७५ ०८:३१ सोमबार

भरत शमशेर शोक प्रस्ताव राष्ट्रिय सभा