राजनीति

काठमाडौंमा संविधान सम्मेलन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको कार्यान्वयनमा चुनौतीबारे अध्ययन र छलफल हुन जरुरी रहेको बताएकी छिन्। नेपालको संविधानसम्बन्धी काठमाडौंमा आयोजित सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानको मूल्य मान्यताको अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताइन्।

संविधानले भाषिक, सांस्कृतिक, लैंगिक विभेद अन्त्य गर्दै समावेशी, समुन्नत समाज निर्माणको लक्ष्य लिएको राष्ट्रपति भण्डारीले बताइन्। जनताद्वारा जारी गरिएको संघीय लोकतान्त्रिक संविधानले मौलिक हकको आवश्यक पूर्वाधार तयार गरेको राष्ट्रपति भण्डारीको भनाइ छ । नेपालको संविधानमा रहेको मौलिक हक उत्कृष्ट रहेको बताउँदै महिला र अल्पसंख्यकलाई मूल प्रवाहीकरणबारे विश्वले सिक्नुपर्ने बताइन्।

कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुबासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनको विकल्प नभएको बताए। नेम्बाङले संविधानसभामा ३१ दलको सहभागितामा संविधान बनाइएको भन्दै विभिन्न फरक दलहरूको उदाहरणीय कानुनी दस्तावेज भएको उल्लेख गरे।

‘सर्वोच्च अदालतदेखि राउटेसम्मको लाखौं सुझाव लिएर संविधान बनाइएको हो,’ नेम्बाङले भने, ‘लाखौं सुझावलाई अध्ययन, मनन गरेर संविधान बनेको हो ।’ जनताको अपेक्षाबमोजिम संविधान संशोधन गर्न सकिने उनको भनाइ छ।

संविधानसभाका पूर्व सदस्य तथा पूर्वमन्त्री रामशरण महतले भिन्न–भिन्न धारणा राख्ने राजनीतिक दल एक ठाउँ भएर संविधान जारी गरेको उदाहरण सुनाए। उनले संविधान बनेपछि तीन तहको चुनाव भएको र सबैभन्दा बढी स्थानीय सरकार बलियो रहेको बताए। ‘जनताद्वारा लेखिएको उत्कृष्ट हाम्रो संविधान हो,’ उनले भने, ‘पञ्चायत मान्ने दलदेखि विद्रोह गरेर आएको पार्टीसम्म एकठाउँ बसेर संविधान बनाइएको हो।’

बंगलादेशका संविधानविद् कमाल हुसेनले संविधान जनताको हक समेटिएको दस्तावेज भएको उल्लेख गरे। संविधानले जनताको अधिकार संरक्षित गर्ने भएकाले लोकतन्त्रको रक्षासमेत गर्ने बताए । उनले दक्षिण एशियामै संविधान कार्यान्वयनका चुनौति रहेको उल्लेख गरे।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ ल का डिन विपीन अधिकारीले तीन दिनसम्म संविधान सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशबाट विज्ञको सहभागितामा संविधानको छलफल हुने बताए। संविधान बनेको ३ वर्ष पुग्नै लाग्दा काठमाडौं विश्वविद्यालय स्कुल अफ ल ले नेपालको संविधान सम्बन्धी तीनदिने सम्मेलनको आयोजना गरेको हो। संविधान विज्ञ सम्मिलित सम्मेलनमा संविधानका विषयमा कार्यपत्रसहित छलफल हुने बताइएको छ। संविधान सम्मेलन सोमबारसम्म चल्नेछ।

प्रकाशित: २७ श्रावण २०७५ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App