राजनीति

नेकपा दोलखामा नेतृत्व लिन दौडधूप

दोलखा - केन्द्र सकेर जिल्ला कमिटी एकिकरण गर्दै पुनर्गठन गर्ने तयारीमा लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्वमा पुग्नका दोलखामा नेताहरूबीच रस्साकस्सी सुरु भएको छ। केन्द्रीय कमिटिले साविकका दुवै पार्टीका जिल्ला इन्चार्ज र अध्यक्ष सम्मिलित कार्यदललाई साउन २५ गतेभित्र जिल्ला पार्टी एकीकरण गर्नेबारे प्रारूप तयार गरेर त्यसको प्रतिवेदन प्रदेश कमिटी हुँदै केन्द्रमा पठाउन निर्देशन दिएलगत्तै जिल्ला नेतृत्वमा पुग्न दोलखाका कम्युनिस्ट नेताहरूले सक्रियता देखाएका हुन्।

केन्द्रले जिल्ला कमिटी एकीकरणसहित पुर्नगठन गर्ने खाका तयार गर्न बनाएको कार्यदलमा तत्कालीन दोलखा एमालेका इन्चार्ज एवं केन्द्रीय सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल साथै तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं पोलिटब्यूरो सदस्य देवी खड्का र जिल्ला अध्यक्ष गोपाल पाण्डे छन्।

‘अहिले जिल्ला कमिटीको संख्या मात्र टुंगो लगाएका छौं। अब जिल्लास्तरमा छलफल र परामर्शपछि बाँकी काम सक्नेछौं।’

कार्यदलको बैठकले सोमबारयता काठमाडांैमा उपलब्ध दुवै पार्टीसम्बद्ध जिल्ला तहका नेतासँग परामर्श गरेको छ। कार्यदलले केन्द्रीय कमिटीले तयार गरेको नियमावलीअनुरूप १ सय ३५ सदस्यीय जिल्ला कमिटी र ४५ सदस्यीय जिल्ला सचिव गरी प्रारूप तयार गरेको छ । जिल्ला कमिटीमा दुवै पार्टीको भागबण्डाबारे भने टुंग्याइएको छैन। दुवै पार्टीका संयुक्त जिल्ला कमिटी बैठक बसेर मात्र संख्या टुङग्याइने नेताहरूले बताएका छन्।

प्रतिनिधिसभा सांसदसमेत रहेका गुरुङले जिल्ला फर्किएपछि दुवै पार्टीका नेता तथा कार्यकर्ताका साथै आकांक्षीसँग छलफल गरेर नेतृत्वबारे टुंग्याउने र प्रदेश हुँदै केन्द्रमा प्रतिवेदन बुझाइने जानकारी दिए। ‘अहिले जिल्ला कमिटीको संख्या मात्र टुंगो लगाएका छौं,’ उनले भने, ‘अब जिल्लास्तरमा छलफल र परामर्शपछि बाँकी काम सक्नेछौं'।

अध्यक्ष साविकको एमाले र सचिव माओवादीलाई
सांसद गुरुङले दोलखा जिल्ला कमिटीको अध्यक्ष तत्कालीन एमाले र पार्टी सचिव माओवादी केन्द्रले लिनेगरी सैद्धान्तिक सहमति बनेको जानकारी दिए। उनले जिल्ला तहमा छलफल गरिसकेपछि मात्र आकांक्षी व्यवस्थापनबारे टुंगोमा पुग्ने जनाउ दिए। ‘यो कार्यदलभित्र भएको सैद्धान्तिक सहमतिको प्रारूप मात्र हो,’ उनले भने, ‘योसहित सबै कुरालाई अन्तिम रूप दिन जिल्ला तहका बैठक नै पर्खनुपर्नेछ।’

तत्कालीन नेकपा माओवादी केन्द्रकी जिल्ला इन्चार्जसमेत रहेकी नेकपा केन्द्रीय सदस्य खड्काले भने अध्यक्ष पदमा दुवै पार्टीको आ–आफ्नै दाबी यथावत रहेको सुनाइन्। ‘हामीबीच कुनै छलफल र निर्णय भएको छैन,’ उनले भनिन्, ‘यो जिल्ला तहमा संयुक्त बैठकबाट मात्र टुंगो लाग्ने विषय हो।’ उनले जिल्ला कमिटी समावेशी प्रतिनिधित्व हुनेगरी पुनर्गठन गर्ने तयारीमा आफूहरू लागेको बताइन्। ‘दुवै पार्टीका नेताको आवश्यकता, क्षमता, इतिहास, लगानी, समावेशी समानुपातिक प्रतिनिधित्वको आधारमा गठन हुनेगरी टुंगो लगाउँछौं,’ उनले भनिन्।

काठमाडाैंमा रहेका नेताहरू जिल्ला फर्किएलगत्तै आकांक्षी व्यवस्थापन गरेर अध्यक्षसहितका पदमा सकभर सर्वसम्मत सहमति गरी टुंग्याउने तयारीमा छन् । ‘हामीबीच सकभर जिल्लाबाटै नेतृत्व टुंग्याउनेबारे समझदारी छ,’ सांसद एवं नेकपा केन्द्रीय सदस्य गुरुङले भने, ‘त्यसैले सकभर जिल्लाबाटै सर्वसम्मतिमा नेतृत्व टुंग्याएर केन्द्रमा पठाउछौँ।’

आकांक्षीको दौडधूप
साविकको एमालेले अध्यक्ष पाउने भित्री सहमति भएपछि नेताहरू पदका लागि दौडधूपमा छन् । सचिव पदका लागिसमेत तत्कालीन नेकपा माओवादी केन्दभित्रसमेत उत्तिकै प्रतिस्पर्धा छ । जिल्ला कमिटीमा पदाधिकारीका रूपमा अध्यक्ष र सचिव मात्र रहनेछन्।

कार्यकर्ताका अनुसार साविकको एमालेभित्र अध्यक्ष पदका लागि पूर्व जिल्लासचिव शिवप्रसाद भण्डारी, तत्कालीन जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, पुराना नेता वसन्तराज कार्की, गोपाल न्यौपाने, पूर्व जिल्ला उपाध्यक्ष भुवनसिंह थापा, पूर्व जिल्ला उपसचिव प्रोणप्रताप केसी र वैत्येश्वर गाउँपालिकाका इन्चार्ज भीमप्रसाद दाहालको आकांक्षा देखिएको छ।
दुईपटक तत्कालीन एमाले दोलखाको नेतृत्व सम्हालेका पूर्व जिल्लासचिव भण्डारी विगठित एमालेको केन्द्रीय कमिटिका अनुशासन आयोग सदस्य थिए । पार्टी एकीकरणपछि विगठित दोलखा एमालेका अध्यक्ष पोखरेल तामाकोशी गाउँपालिकाका अध्यक्षसमेत हुन् । दोलखाली कम्युनिस्टका पुरानामध्येका कार्की एमालेबाट माले विभाजनपछि जिल्ला पार्टी प्रमुखको भूमिका निर्वाह गरिसकेका नेता हुन् भने गाविस महासंघको नेतृत्व गरिसकेका न्यौपानेसमेत पुराना नेता हुन् । थापा पार्टीका पूर्वउपाध्यक्ष् हुन भने केसी पार्टीमा उपसचिव रहिसकेका छन्। वैत्येश्वर गाउँका दाहालसमेत पुराना मध्येका हुन्।

पार्टीभित्र देखिएका सातैजना आकांक्षी अध्यक्ष बन्नका लागि गुटगत लबिङ र दौडधूपमा व्यस्त छन्। जिल्लामा निर्णय नभए केन्द्रबाटै मनोनित हुने दौडमासमेत आकांक्षी उत्तिकै लागेका छन्। साविकको दोलखा एमालेभित्र सांसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल र प्रदेशसभा सांसद पशुपति चौलागाई निकट तीनओटा गुट सक्रिय छन्। भण्डारी र पोखरेललाई सांसद गुरुङको समर्थन छ भने कार्की, न्यौपाने र थापा पूर्वमन्त्री पोखरेलका निकट मानिन्छन्। यस्तै दाहाल र केसीलाई चौलागाईको साथ छ । आफू निकट अध्यक्ष बनाउन सके पार्टीको बागडोर आफ्नै पक्षमा ल्याउने मनसायले तिनै नेता भित्रभित्रै आफ्ना विश्वासपात्रलाई अध्यक्ष बनाउने कसरतमा छन्। यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रभित्र एकीकृत पार्टीको सचिव पदका लागि गोपाल पाण्डे, कुलबहादुर बुढाथोकीलगायत आकांक्षी देखिएका छन्।

प्रकाशित: २५ श्रावण २०७५ ०१:३५ शुक्रबार

#नेपाल कम्युनिस्ट पार्टी #नेतृत्व