राजनीति

विकासको गति बढाउन सरकारलाई सुझाव

चितवन – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन्।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भने। सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गरे। उनले भने, ‘केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ। त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ।’

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उनले बताए। उनले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए। कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो। रासस

प्रकाशित: २४ श्रावण २०७५ ०६:४२ बिहीबार

#राष्ट्रियसभा #गणेश तिमिल्सिना