राजनीति

मन्त्री साहको चुनौती : पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको देखाउनुस्, अहिल्यै राजीनामा दिन्छु

जनकपुरधाम- प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन्।

मधेशी पत्रकार समाजद्वारा बुधबार आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता तालीमको समापन समारोहमा उनले भने, “अनर्गल हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन।” 

जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले गत सोमबार समाजद्वारा आयोजित कार्यक्रममा प्रदेश नंं २ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा अधिक भ्रष्टाचार भइरहेको भनाइलाई लक्षित गरी मन्त्री साहले सो धारणा राखेका हुन्। 

उनले मन्त्रालयका कतिपय कर्मचारीले कुनै बेला गरेको क्रियाकलापका कारण सबैलाई सोही श्रेणीमा राख्न नहुने बताउँदै भ्रष्टाचार अन्त्यका लागि सबैको अग्रसरताको खाँचो रहेकाेमा जाेड दिए।

प्रदेशसभा सदस्य रामअशीष यादवले नेता शासक बन्न खोजेमा निरङ्कुशताले प्रश्रय पाउन सकिने प्रसङ्ग उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले पत्रकारलाई सम्मान र सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। रासस

प्रकाशित: २३ श्रावण २०७५ १५:५१ बुधबार

#प्रदेश २ #मन्त्री #भ्रष्टाचार