राजनीति

विप्लव माओवादीका प्रवक्तालाई चन्दा मुद्दा, ७ करोड असुलेको दाबी

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। 

४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए। उनसँगै बा.१४प. २७२९ नं. को गाडीमा हेटौडाबाट काठमाडौं आइरहेका ५० वर्षीय मन बहादुर श्रेष्ठ र ३३ वर्षीय हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उद्योगपति, व्यवसायीबाट अवैद्य रुपमा करिब ७ करोड बराबरको रकम चन्दा असुली गरेको पाइएकोले उनीहरुविरुद्ध चन्दा ऐन, २०३० बमोजिमको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी मोहन कुमार थापाले जानकारी दिएका छन्।

यता प्रवक्ता विश्वकर्मासहित तीन नेता पक्राउ परेपछि विप्लव माओवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरिसकेको छ। 

प्रकाशित: २३ श्रावण २०७५ १२:५५ बुधबार

#विप्लव #खड्गबहादुर विश्वकर्मा #नेकपा #पक्राउ