राजनीति

प्रदेश सरकारले घोषणा गरेको विदा विवादमा

विराटनगर- प्रदेश नम्बर १ का जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारले बिहीबारका लागि घोषणा गरेको सार्वजनिक विदा अवज्ञा गर्ने तयारी गरेका छन्। आफूहरु संघीय सरकार मातहतको निकाय भएको र गृह मन्त्रालयले निर्देशन नदिएसम्म कार्यालय बिदा नगर्ने भनाइ ती कार्यालयहरुको छ।

 प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयले आदिवासी जनजाति दिवसमा सार्वजनिक बिदा दिन भन्दै प्रदेशभरीका जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको छ। तर, संघीय सरकारले नभनेसम्म बिदा नदिने अडानमा जिल्ला प्रशासनहरु छन्। ‘गृह मन्त्रालयले निर्देशन नदिएसम्म हामी कार्यालय बिदा गर्दैनौं’, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ‘कुनै निर्देशन आएन भने कार्यालय पूर्ववत सञ्चालन हुनेछ।’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि दाहालकै भनाइ दोहोर्याए। ‘साँझसम्ममा केही नयाँ निर्देशन आयो भने बिदा हुन्छ अन्यथा हुन्न’, उनले भने। 

तर, प्रदेश सरकारले भने प्रदेशभरीका सबै सरकारी कार्यालय तथा सरकारी स्वामित्वका संस्थाहरु ‘अनिवार्य बिदा हुने’ जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको निर्णय कार्यान्वयन हुने बताए। ‘प्रदेश सरकारले रमाइलोका लागि बिदा दिएको होइन, आदिवासी जनजातिको सम्मानका लागि बिदा दिइएको हो’, उनले भने ‘प्रदेश सरकारको निर्णय प्रदेशका सबै सरकारी निकायले पालना गर्नेछन्।’ प्रदेशका जिल्ला प्रशासनहरुले बिदा अवज्ञा गर्ने तयारी गरेको बारे उनले थपे ‘त्यस्तो कुरै हुँदैन। यदि भए त्यो दुरी बढाउने काम मात्रै हुनेछ।’ 

 

प्रकाशित: २३ श्रावण २०७५ १२:३७ बुधबार

प्रदेश सरकार सार्वजनिक विदा