राजनीति

निरु पालमाथि आक्रमण राजनीतिक प्रकृतिको अपराधः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सांसद निरु पाललाई पेस्तोल ताकिएको घटना राजीतिक प्रकृतिको अपराध भएको बताएका छन्। घटनाबारे प्रतिनिधि सभामा जवाफदिँदै थापाले राजनीतिक अस्थिरता फैलाउन चाहने तत्वले यस्तो अपराधिक घटना गराएको दाबी गरेको हुन्।

गृहमन्त्री थापाले शान्ति सुरक्षाका विषयमा सरकार गम्भिर रहेको भन्दै घटनाबारे गम्भिररूपमा छानविन अगाडि बढाइरहेको संसदलाई जानकारी गराएका थिए।

यसअघि नेकपाकी सांसद निरु पालले आफूमाथि आक्रमणको प्रयास भएको भन्दै संसदमा जानकारी गराएकी थिइन्। संसदको विशेष समयमा बोल्दै पालले साउन १५ गते साँझ ८ बजे बानेश्वरमा आफ्नो घाँटीमा पेस्तोल ताकेर प्रधानमन्त्रीको नाम लिँदै ‘लाश भेट्न नसक्ने’ भन्दै धम्काएको बताएकी थिइन्।

उनले आफूलाई अहिले पनि दुखिरहेको बताउँदै निलो डाम रहेको बताइन्। पेस्तोल देखाएर आफूलाई तर्साउन खोजे पनि सरकार नडगमगाउने उनले बताइन्। आक्रमणकारीले आफ्नो मोवाइल खोसेर हल्ला गरे ढालिदिने भन्दै धम्काएको उनको भनाई थियो।

बैठकमा अन्य सांसद्ले शान्ति सूरक्षाको व्यवस्था सुदृढ पार्न माग गर्दै घटनाबारे संसदलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका थिए।

 

प्रकाशित: १७ श्रावण २०७५ ०९:२१ बिहीबार

निरु पालमाथि आक्रमण राजनीतिक प्रकृतिको अपराधः गृहमन्त्री थापा