राजनीति

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

भैरहवाको विरोधसभामा सहभागी काँग्रेस नेतृहरु । तस्बिर : नागरिक

बुटवल– नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। नेपाली काँग्रेसले सरकारबिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले जनताले ओलीको बोली र गोली दुवै मन नपराएको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिए। ‘ओलीजीलाई दुइ तिहाइको दम्भ निकै चढेको छ। त्यसकै आडमा जथाभावी बोल्दै हिड्नु भएको छ’, नेता खाँणले भने, ‘बोली र गोली धेरै भयो बन्द गर्नुस, अब जनता सहनेवाला छैनन।’  

विरोध सभामा प्रधानमन्त्री ओलीविरुद्ध निकै आक्रामक देखिएका नेता खाँणले जथाभावी नबोल्न, निर्णय नगर्न र शान्तीपूर्ण विरोधका कार्यक्रममा गोली नचलाउन चेतावनी दिएका हुन्। जुम्लामा डाक्टरहरुको प्रदर्शन र चितवनमा रिक्सा मजदुरमाथि गोली चलाउन ठाडो आदेश दिएको भन्दै उनले लोकतान्त्रिक पद्दतीमा जनतामाथिको यस्तो दमन सैह्य नहुने बताए। बजारमा ओलीको बोली बाहेक सबै कुरा महंगो भएको भन्दै नेता खाँणले अधिकार माग्दा जनतालाई गोली ठोक्न आदेश दिने सरकार लोकतान्त्रिक हुनै नसक्ने दावी गरे।

केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक रहेका खाँणले बहुमतको सरकारले देशमा सुशासन कायम गर्नुको साटो भ्रष्टाचार र महंगी बढाएको भन्दै काँग्रेसले अधिनायकवादका विरुद्ध लडेर लोकतन्त्र रक्षा गर्ने बताए। प्रधानमन्त्री जनताको सेवन बन्नुपर्नेमा मालिक बनेर कम्युनिष्ट सर्वसत्ताबाद लादन खोजको उनको आरोप छ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य भरतकुमार शाहले ओली सरकारले जनतालाई तर्साउनेगरी महंगी बढाएर आकुलव्याकुल बनाउने काम मात्र गरेको आरोप लगाए। महिला नेतृ रमा अर्यालले ओली सरकारका जिम्मेबार नेताहरुले देशैभरी महिलाहरुको अस्मितामाथि हमला गरेको भन्दै समयक्रममा नेपाली महिलाले त्यसको जवाफ दिने बताइन्। देवी प्रसाद चौधरी, जिल्ला सभापति अब्दुल रज्जाक, फणेन्द्र शर्मा, रामकृष्ण खाँण लगायतका नेताहरुले बोल्दै ओली सरकार कम्युनिष्ट सर्वसत्ताबादतर्फ अगाडि बढेकाले त्यसलाई नियन्त्रण गर्न काँग्रेस अगाडि बढेको बताए। 

प्रकाशित: १५ श्रावण २०७५ १५:३५ मंगलबार

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी