राजनीति

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

नेपालगन्ज- सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

प्रर्दशनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेताहरुले संघीय सरकार तथा प्रदेश सरकार निर्वाचित भएर आएपछि लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको साटो मनोमानी ढंगबाट चलेको आरोप लगाए।

कांग्रेस बाँकेका सभापति किरण कोईरालाले जनताका अधिकारलाई खोसेर सरकार अधिनायकवादी भएपछि विरोध प्रर्दशन गर्नुपरेको बताईन्। ‘जनता यतिबेला सरकारबाट आतंकित भईसकेका छन्, जनताको अधिकार खोसेर सरकार अधिनायकवाद भयो,’ उनले भनिन् ‘सरकारले एकातिर मुल्यबृद्धि र हरेक क्षेत्रमा कर बढाएको छ, अर्कोतिर अघिल्लो सरकारले जनताको हितमा गरेका राम्रा निर्णयलाई बदर गरिदिएको छ।’

कांग्रेसका जिल्ला सचिव कपिलदेव शर्माले पार्टीको आन्तरिक कलहलाई थाती राखेर सरकारका विरुद्ध प्रर्दशनमा उत्रिन कार्यकर्ताहरु एकढिक्का भएको पत्रकार सम्मेलनमा बताए। ‘पार्टीभित्रको आन्तरिक कलहलाई एक ठाउँमा राखेर यतिबेला सरकारले गरेका जनविरोधी निर्णयका विरुद्ध एक हुनेमा यसअघि बसेको पार्टीका जिम्मेवार पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ तथा शुभेच्छुक संस्थासँगको बैठकमा सहमती भएको छ,’ उनले भने। स्थानीय सरकारमा हुने जनविरोधी निर्णयका विरुद्ध पनि नेपाली कांग्रेसले आगामी दिनमा प्रतिवाद गर्ने सचिव शर्माले बताए।

प्रकाशित: १४ श्रावण २०७५ १३:०९ सोमबार

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन कांग्रेस