राजनीति

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

काठमाडौं – नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ। सोमबार दाहाल निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो।

भेटमा दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टी एकतालाई चुनावमा जिताएर अनुमोदन पनि गरेको उल्लेख गरे। चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष दाहालको भनाई थियो।

दाहालले विदेशमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे। उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे। ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ’, दाहालले भने, ‘अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ।’

विदेशमन्त्री चिङले राष्ट्रपति सिजिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाए। उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिए। विदेशमन्त्री चिङले चीन नेपाल र नेपालीको प्रगति तथा समृद्धिका लागि सदैव तयार रहेको बताए। बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उनको भनाई थियो।

प्रकाशित: १४ श्रावण २०७५ ०५:४६ सोमबार

दाहाल चिनियाँ उपमन्त्रीबीच भेटवार्ता