राजनीति

संसादहरुद्वारा बलात्कारीलाई मृत्युदण्डको माग

काठमाडौं – बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा तत्काल छानविन गरी हत्यारालाई मृत्युदण्डको सजाय दिन सांसदहरूले माग गरेका छन्।

आजको बैठक सुरु हुनासाथ संसादहरुले बिहीबार भएको घटनाका अभियुक्तलाई हालसम्म कारवाही गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदै हत्यारालाई हदैसम्मको कारवाही र पीडितपक्षलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन्। 

प्रतिनिधिसभाको विशेष समयमा बाेल्दै नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले बालिका बलात्कार र हत्याका दोषीलाई मृत्युदण्डको सजाय दिन माग गरेकी हुन्। सांसद प्रमिला राईले ४ दिनसम्म हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन्। सांसद् राईले मुलुकभर महिलामाथि हत्या, बलात्कारको घटना बढदै गएको भन्दै त्यस्ता घटना रोक्न सरकार संवेदनशील हुनुपर्ने बताइन्। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यस विषयमा गृहमन्त्रीले संसदमा जवाफ दिन माग गरे। यसअघि शुन्य समयमा बोल्दै संसाद निरुदेवि पालले पीडकलाई सर्वस्वसहितको कारवाही माग गरिन्। उनले यस्तो जघन्य अपराधमा पनि लाशमाथिको राजनीति गर्ने प्रवृति देखिएको भन्दै त्यसो गर्नु दुखद् भएको बताइन्।  

सांसद् पूर्णाकुमारी सुवेदी, दिलेन्द्र प्रसाद बडु, सांसद डिला संग्रौला, तेजुलाल चौधरी, दीपकप्रसाद भट्ट लगायतले पनि हत्यारालाई कारवाहीको माग गरे।  

गत बिहीबार बिहान भिमदत्त नगरपालिकाको वडा न. १८ निम्बुखेडास्थित उखुबारीमा पन्तको शव फेला परेको थियो।  बिहीबार साथीको घरबाट कापी कलमसहित साइकलमा घर फर्किदै गर्दा उनी हराएकी थिइन्। बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ। 

घटनास्थलमा खटिएका प्रहरीका अनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ। प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको थियो। 

अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत थिइन्। स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमा समेत स्थानीय प्रशासनसँग सुरक्षा मागेका थिए। तर सुनुवाइ नहुँदा घटना घट्न पुगेको स्थानीयको गुनासो छ। 

स्थानीय प्रशासनले बालिकाको शव उठाउन परिवारलाई आग्रह गर्दै आए पनि पीडित पक्षले दोषीमाथि कारवाही र सुरक्षा सुनिचित्ता नभएसम्म शव नउठाउने अडान राख्दै आएका छन्।

प्रकाशित: १३ श्रावण २०७५ ०६:२८ आइतबार

संसादहरुद्वारा बलात्कारीलाई मृत्युदण्डको माग