राजनीति

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराईले नेपालमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार आएको भन्दै आर्थिक समृद्धिको अभियानलाई यो पार्टीले मूर्तरुप दिने बताएका छन्। उनले नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गर्दै बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर बोकेर नहिड्न पनि सुझाव दिए।

उनले राजधानीमा आज आयोजित एक कार्यक्रममा केसी सरकारविरुद्ध राजनीतिक रुपमा अघि बढेको पनि उल्लेख गरे। उनले बाटोमा जे भेट्यो त्यही बोक्दै हिड्दा बाटोमा सिन्नु र धोक्रेझार पनि भेटिने भन्दै त्यसले आफ्नै हात पोल्ने पनि बताए। उनले नेपाली कांग्रेसलाई सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्ने एजेण्डा हो भनि प्रश्न गरे। उनले डाक्टर केसीको माग विशुद्ध चिकित्सा शिक्षा क्षेत्रको सुधारको भए माइतीघर मण्डलामा अनशन बस्न र सरकारका विरुद्धमा नारावाजी गर्न कुनै जरुरी नभएको पनि दाबी गरे।

उनले केसी कम्युनिष्ट नेतृत्वको सरकार फाल्ने एजेण्डा लिएर आएको भए नमान्ने भन्दै केसीले वर्तमान सरकारलाई अपदस्थ गर्ने योजना बनाएको हो भने त्यो सफल नहुने पनि दाबी गरे। उनले कम्युनिष्ट नेतृत्वको सरकारले गलत काम गरेको प्रमाण छ भने जनताका बीचमा गएर असफल बनाउन पनि चेतावनी दिए। उनले कुस्ती खेल्ने भए कुस्तीकै भेषमा आउन पनि आग्रह गरे।

भट्टराईले डा.केसीको अनशन बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्ध नियोजित डिजाइन रहेकोे आरोप समेत लगाए। ‘केसीको अनशन ग्रान्ड डिजाइन हो, सरकार यो भुमरीमा फस्न चाहदैन’, भट्टराईले भने, ‘सरकारलाई बर्खास्त गराउने मागमा के कुरा हुन्छ? शैक्षिक माग भए पुरा हुन्छ।’ केसीको मागमा कांग्रेसले अनावश्यक राजनीति गरिरहेको उनको आरोप छ। माथेमा कार्यदलको प्रतिवेदन र शिक्षामन्त्रीले प्रस्तुत गरेको चिकित्सा शिक्षा बिधेयकमा कुनै फरक नरहेको पनि भट्टराईको भनाई थियो।

प्रकाशित: ९ श्रावण २०७५ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App