राजनीति

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

काठमाडाैं- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आई गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी मनहरा नगरपालिकास्थित एक घरमा बसेर बाल यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरुले १० देखि १४ वर्षका बालबालिकालाई फुटबल, चकलेट, खेलकुदका सामाग्री किनिदिनुका साथै पैसासमेत दिने र यौन दुराचार साथै अप्राकृतिक मैथुन गर्ने गरेको ब्यूरोले जनाएको छ। 

उनीहरुबाट हालसम्म आठ जना पीडित भएको उजुरी ब्यूरोमा आएको छ। पक्राउ दुवैलाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ। 

प्रकाशित: ८ श्रावण २०७५ १४:३६ मंगलबार

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ