काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी हस्तक्षेपप्रति निन्दा गर्दै यस किसिमको बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी दिएका छन्।
नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको अाराेप लगाए। केसीको अनशनप्रति सरकारका जिम्मेवार मन्त्रीका सार्बजनिक टिप्पणीले उनको मागप्रति सरकार कति पनि जिम्मेवार नभएको देखाएकाे उनले बताए।
चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले उठाएका मागको देउवा सरकारका पालामा सबैसंग सहमति गरेर समाधान भइसकेको बिषयलाई पुनः खोतलेर सरकारले गैरजिम्मेवार काम गरेको निधिकाे अाराेप छ। ‘सहमति भइसकेको बिषयलाई तोडमोड गरी बेइमानीपूर्बक सरकारले चिकित्सा शिक्षा बिधेयक संसदमा दर्ता गराएर केही व्यक्तिको स्वार्थमा काम गर्न खोजेको छ’ निधिले भने।
निधिले कांग्रेसको युरोप जनसम्पर्क समितिको अधिबेशन छिटोभन्दा छिटो गरेर आपसी सहमति कायम गर्न भेलाका सहभागीहरुलाई आग्रह गरे। उनले आफू काठमाडौं फर्केपछि शीर्ष नेताहरुसंग यसबारे छलफल गर्ने जानकारी गराए।
प्रकाशित: ६ श्रावण २०७५ १५:१२ आइतबार