राजनीति

‘आन्दोलन जारी राख्नुहाेस्' : गृहमन्त्री

सर्लाही - गृहमन्त्री रामबहादु थापा मगरले उत्पीडित समुदायले अझै आन्दोलन जारी राख्नु पर्ने बताएका छन्। नेपाल मगर संघ २ नं. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृह मन्त्री मगरले वर्षौंदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका हुन् । 

‘एउटा परिवारको शासन व्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था त आएको छ’, मन्त्री मगरले भने, ‘तर सम्पूर्ण जातजाती, समुदाय र वर्गको शासन सत्तादेखि राज्यका हरेक तह, तप्का र निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले अझै आवाज बुलन्द पार्नुपर्ने जरुरी छ ।’ 

नेपालको संविधान संशोधन गरेर होस् वा अन्य उपायबाट राज्यका सम्पूर्ण तह र तप्कामा हरेक जातजाती, समुदाय र वर्गको पूर्ण समानुपातिक प्रतिनिधित्व गराउन जरुरी रहेको उल्लेख गर्दै मन्त्री मगरले त्यसका लागि संघर्ष जारी राख्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘पछाडी पारिएका समुदायका लागि धेरै उपलब्धीहरु हाँसिल भईसकेका छन्’, उनले भने, ‘तर पहिचान सहितको पूर्ण समानुपातिक प्रतिनिधित्वको सवालले पूर्णता पाएको छैन ।’

गृह मन्त्री थापाले पछिल्लो जनादेश मुख्य गरी मुलुकको समृद्धि नै भएको उल्लेख गर्दै सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को मूलनारा सहित काम कारबाही अगाडी बढाएको बताए । खुला सिमानाका कारण हुने तस्करी, राजश्व दोहन, ठगी लगायत गैरकानूनी कार्य नियन्त्रणमा लिँदै त्यसमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार कटिबद्ध रहेको मन्त्री मगरको भनाई थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै २ नं. प्रदेश सरकारका मुख्य मन्त्री मोहम्मद् लालबाबु राउतले आदिवासी जनजाती, दलित, मधेशी लगायत उत्पीडित समुदायको पहिचानको आन्दोलन पूर्ण रुपले सम्बोधन नभएसम्म मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने ठोकूवा गरे । ‘पहिचान खोजिरहेको मानव समुदायको मागलाई लत्याउँदै नदिनाला, पहाड आकाशको पहिचान झल्काउँदै प्रदेशको नामाकरण भईरहेको छ’, उनले भने, ‘यस्ता कार्यले मुलुक समृद्धिको बाटोमा हिड्दैन ।’

प्रकाशित: ५ श्रावण २०७५ १३:२२ शनिबार

आन्दोलन जारी राख्नुहाेस् गृहमन्त्री