राजनीति

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

काठमाडाैं- डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन्। 

घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ। 

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ। अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ। 

दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो। अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो। प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए। 

जुलुसमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो। 

कार्यक्रमको समाचार संकलनका लागि खटिनुभएका प्रेस युनियनका महासचिव शिवाकोटी प्रहरीको लाठीले घाइते भएकामा युनियनले घोर भत्सर्ना गरेको छ। अध्यक्ष बद्री सिग्देलले आज जारी गरेकाे विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ। 

काँग्रेसद्वारा दुःख व्यक्त 

यसैबीच, नेपाली काँग्रेसले नेपाल तरुण दलले नयाँ बानेश्वरमा निकालेको शान्तिपूर्ण जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे दुःख व्यक्त गरेको छ। 

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक आक्रमण भएको भन्दै निन्दा गरेका छन्।

काँग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत चार दर्जनभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ। 

यसैबीच, आन्दोलनका क्रममा घाइते भएका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको जनाएको छ। अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्तामार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु दुःखद कुरा भएको बताएको छ। 

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा निरन्तर आन्दोलन गर्ने काँग्रेसले बताएको छ। 

प्रकाशित: ५ श्रावण २०७५ १३:२० शनिबार

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप काँग्रेसद्वारा भत्सर्ना