जुम्ला - असार १५ गते जुम्ला र कालीकोटको सीमा क्षेत्रमा पर्ने नाग्मा भन्ने स्थानमा एक अधबैंसे व्यक्ति देखिए। उनी सनराइज यातायातको जिप चढ्दै थिए।
पछ्याउँदै निकट पुग्दा निक्र्योल भयो– उनी चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी रहेछन् । केका लागि जुम्ला ? उनले जवाफ दिए, ‘तपाईंकै नागरिक दैनिकको कार्यालयमा सोध्नुस् ।’ फिस्स हाँस्दै उनले थपे, ‘म पन्ध्रौं अनशनका लागि जुम्ला आएको हुँ ।’ गाडी कुद्यो, उनी हात हल्लाउँदै जुम्ला सदरमुकाम खलंगातिर लागे । उनी कर्णाली राजमार्गको कठिन यात्रा पार गरेर जुम्ला आइपुगेका थिए । त्यही साँझ उनी जुम्लाको स्नो ल्यान्ड होटेलमा आइपुगे । उनी त्यो रात यही होटेलमै बसे । अर्को दिन बिहान उनलाई भेट्न स्वास्थ्यकर्मी होटेलमा आइपुगेका थिए।
उनी दिउँसो दुई बजे अनशन बस्ने समय तय गर्दै स्वास्थ्य चेकजाँचका लागि दिउँसो १२ बजेतिर होटेलबाट एक्लै निस्किए । उनले अनशनस्थल यहाँस्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई छानिसकेका थिए । १२ बजेतिर होटेलबाट अनशनका लागि भनेर निस्किएका डा. केसी प्रतिष्ठानतिर लम्किरहेका थिए, उनलाई प्रहरीले रोक्यो । यहाँको टुँडीखेलनजिकै प्रहरीले अवरोध गरेपछि उनी अघि बढ्न सकेनन् ।
स्थानीयको भिडभाड भयो । उनी स्थानीयसँगै झन्डै एक घण्टा बसेर गफिए । स्थानीयसँगै डा. केसीले आफूलाई रोकेको विरोधमा जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसे । एक घण्टा धर्ना बसाइपछि उनलाई प्रशासनले धर्नाबाट उठ्न चेतावनी दियो । ‘यो निषेधित क्षेत्र हो, यहाँ धर्ना बस्न पाइन्न’, प्रहरीले माइकिङ गर्दै भन्यो, ‘तत्काल निषेधित क्षेत्र खाली गरियोस् ।’ प्रहरीको उर्दीले न डाक्टर पछि हटे, न स्थानीय नै । प्रहरीको उर्दी नमानेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपनकुमार दाहालले बल प्रयोग गरेर उठाउन थाले । स्थानीयले डा. केसीको माग जायज रहेको भन्दै धर्ना नछोड््ने बताएपछि प्रहरीले लाठी चार्ज गर्यो ।
डिएसपी दाहालले डा. केसीलाई नियन्त्रणमा लिए भने स्थानीयलाई बलजफ्ती बाहिर निकालियो । नियन्त्रणमा लिइएका डा. केसीले दिउँसो तीन बजेदेखि हिरासतमै १५औं अनशनको घोषणा गरे । प्रहरी संकटमा पर्यो, उनलाई तत्काल जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा ल्याएर बेवारिसे अवस्थामा छोडिदियो । यसबारे स्थानीयलाई कुनै पत्तो थिएन । डा. केसी बेवारिसे अवस्थामा रहेको हल्ला सुनेपछि केही बेरमा यहाँको नागरिक समाजको टोली उनको उद्धारका लागि कभर्ड हलमा पुग्यो । खुल्ला कभर्ड हल, झ्याल थिएन । भुइँमा शौचमात्रै । एकदमै गनाउने उक्त हलमा डा. केसीले अनशन थाले ।
अनशनको दोस्रो दिन असार १७ मा जिल्ला प्रशासन कार्यालयको आग्रहअनुसार केसीको स्वास्थ्यअवस्था बुझ्न कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लाले डा. प्रवीण गिरीको संयोजकत्वमा तीनसदस्यीय चिकित्सक टोली खटायो। उनको समर्थनमा नागरिक समाज पनि उत्रियो । नागरिक समाजले जुम्लाको कृष्णमन्दिरअगाडि हस्ताक्षर संकलन अभियान सुरु ग¥यो । डा. केसीको जीवन रक्षाको माग गर्दै नागरिक आन्दोलन सुरु भयो । त्यो दिन अर्धनग्न पुरुषले मुखमा कालोपट्टी बाँधेर विरोध र्याली निकाले।
तेस्रो दिन असार १८ मा उनको स्वास्थ्य अवस्था निकै बिग्रियो । उनलाई चिसोले बेस्सरी थलायो । डा. केसीको तीन दिनमै स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकले आन्दोलनको घोषणा गरे । उनीहरुले डा. केसीलाई सुरक्षित स्थानमा लैजान स्थानीय प्रशासनसँग माग गरे तर प्रशासनले सुनेन । चिकित्सकका अनुसार डा. केसीलाई तेस्रो दिनमै संक्रमणको खतरा बढिसकेको थियो । कभर्ड हलमा उपचार गर्न नसक्ने भन्दै चिकित्सकको टोली फिर्ता भयो । कारण उपचार गर्नका लागि कभर्ड हलमा विद्युत् थिएन ।
चौथो दिन असार १९ गते डा. केसी सोही कभर्ड हलमै अनशनरत थिए । त्यो दिनसम्म डा. केसीको स्वास्थ्य अवस्था झनै गम्भीर बनिसकेको थियो । चिकित्सक र नागरिक समाजले सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गरे । र यसका लागि दबाब स्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मीक बाहेकका सबै उपचार सेवा बन्द गरे । तर डा. केसीलाई अस्पताल लैजान प्रशासनले अनुमति दिएन।
पाँचौं दिन असार २० गते कभर्ड हलमा अनशनरत डा. केसी स्वास्थ्य अवस्था गम्भीर भएका कारण छटपटाइरहेका थिए । बेस्सरी थलिएका डा. केसीलाई भरपर्दो उपचारको सख्त आवश्यकता थियो । नागरिक समाज र चिकित्कले डा. केसीलाई प्रहरीको घेरा तोडेर जबरजस्ती अस्पताल पुर्याए । उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको थियो । यो बेला पनि प्रहरीले बल प्रयोग गरेर डा. केसीलाई रोक्न खोज्दै थियो । त्यति बेला डा. प्रवीण गिरीले भनेका थिए, ‘आधा घण्टामात्रै ढिला गरेको भए जे पनि हुन सक्थ्यो ।’ प्रहरीको घेरा तोडेर प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएका डा. केसीलाई अस्पतालको आकस्मीक कक्षमा उपचारका लागि भर्ना गरियो । यता अनशनमा बसेका डा. केसीको जीवन रक्षा माग गर्दै थालिएको आन्दोलनले निरन्तरता पायो ।
छैटौँ दिन डा. केसीलाई अस्ताल पुर्याइसकेपछि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सक काममा फर्किए र हातमा कालोपट्टी बाँधेर काम गरे । कभर्ड हलमा बस्दा बिग्रिएको उनको स्वास्थ्य अवस्थामा अब भने केही सुधार भएको थियो । तर आकस्मिक कक्षमा संक्रमणको उत्तिकै खतरा थियो ।
संक्रमणबाट जोगाउन उनलाई सघन उपचार कक्षमा पुर्याइयो । उनलाई त्यहाँ चौबीसै घण्टा स्वास्थ्यकर्मीले निगरानी राख्न थाले । यता नागरिक आन्दोलन जारी थियो । द्वन्द्वपीडित महिलासमेत डा. केसीको जीवन रक्षा र माग पूरा गराउन दबाब दिन सरकारविरुद्ध सडकमा उत्रिए । यता सरकारले डा. केसीको उपचारका लागि भन्दै काठमाडौँबाट दुईजना चिकित्सक जुम्ला पठायो । तर तिनको सेवा लिन डा. केसीले मानेनन्।
सातौँ दिन असार २२ गते डा. केसीले आफ्नो अनशनबारे संक्षिप्त धारणा राखे । पत्रकारलाई अनशन स्थलमै बोलाएर उनले भने, ‘सरकारले माग पूरा नगरे कर्णालीमै मर्न तयार छु तर तीन करोड नेपालीलाई धोका दिन्नँ ।’ डा. केसीले आफ्नो १५औँ अनशनलाई जुम्लामै टुंग्याउन चाहन्थे । नागरिक आन्दोलन झन् तात्दै थियो ।
आठौँ दिन असार २३ गते डा. केसीको स्वास्थ्य अवस्था गम्भीर थियो । उनी ८ दिनमै गम्भीर हुनुको कारण यसअघि जुम्लाको कभर्ड हलमा अनशन बसेका बेला चिसोले लखतरान पारिसकेको थियो । डा. केसी त्यो दिन पनि खासै बोल्न सक्ने अवस्था थिएनन् । तथापि उनले आफैं दुई मिनट बोल्ने भनेर समय दिए । उनले जुम्लामा आएर अनशन बस्नुको कारणबारे प्रस्ट्याए।
उनको भनाइ थियो, ‘सदियौँ देखि हेपिएको कर्णालीलाई राज्यले चिनोस् भनेर पनि म सत्याग्रहका लागि जुम्ला आएको हुँ ।’ यता आठौँ दिनसम्म डा. केसीको पक्षमा नागरिक आन्दोलनले गति लिइरहेको थियो । नागरिक समाजले नेतृत्व गरेको आन्दोलनमा सर्वसाधारण स्वस्फूर्त सडकमा थिए । तथापि जुम्ला शान्त थियो, कारण— आन्दोलन अनियन्त्रित बनेको थिएन । यस्तै अनशनप्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघको केन्द्रीय टोली जुम्ला आइपुग्यो । संघका उपाध्यक्ष ढुण्डीराज पौडेल र कोषाध्यक्ष प्रकाश बुढाथोकी जुम्ला आइपुगेका थिए।
स्थानीय प्रशासन अनशनको नवौँ दिनसम्म पनि उस्तै कडाशैलीमै प्रस्तुत भइरहेको थियो । यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले मानवीयताको समेत ख्यालै राखेनन् । उनले तल्लो शब्दको प्रयोग गर्दै भनेका थिए, ‘बुढो मर्दैन, यसमा म ढुक्क छु ।’ तर उनी डा. केसीलाई जसरी पनि जुम्लाबाट लखेट्ने चिन्तनमा देखिन्थे । यहाँसम्म कि डा. केसी अनशन बसेको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई समेत उनले प्रतिपक्षी बनेको बनेर आरोप लगाए।
सरकार पक्षका लागि डा. केसी प्रतिपक्ष लागे पनि जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि आएका जुम्लाका विकट गाउँदेखि बाह्य जिल्लाका बिरामीले डा. केसी कर्णालीका लागि भगवान् बनेर आएको अभिव्यक्ति दिइरहेका थिए । उनीहरुले दूरदराजको दयनीय स्वास्थ्य अवस्थाबारे प्रस्ट्याइरहेका थिए । बिरामी तथा तिनका आफन्तले नै डा. केसी आफ्ना लागि नभई कर्णालीका गरिब जनताको हितका लागि जुम्लामा अनशन बस्न आएको बताएका थिए ।
अनशनको दसौँ दिनदेखि डा. केसीको श्वासप्रश्वासमा जटिलता देखिइसकेको थियो । उनी बोल्न गाह्रो मानिरहेका थिए । उनी इसाराले नै कुरा गर्दै थिए । दसौँ दिनदेखिको एक सातासम्म पनि सरकार डा. केसीको मागमा टसमस भएन । उल्टो सरकारले उनलाई जबरजस्ती भए पनि काठमाडौँ लैजाने तयारी गरिरहेको चर्चा जुम्लामा बाक्लियो । यसले सडक आन्दोलनलाई क्रूद्ध बनाउँदै लगेको थियो भने डा. केसी झन् सरकारप्रति रुष्ट बन्दै थिए । सडकमा उत्रिएका आन्दोलनकारी डा. केसीलाई कुनै पनि हालतमा लैजान नदिने भन्दै आक्रोशमा थिए । आन्दोलनकारीले स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रसमेत तोडिदिए । सडकमा जनसहभागिता पनि बाक्लिँदै थियो।
असार अन्तिम अर्थात् ३२ गते डा. केसीको स्वास्थ्यमा अस्वाभाविक समस्या देखियो । उनको मुटुको धड्कनमा आएको अस्वाभाविक परिवर्तन र सास फेर्न गाह्रो भएपछि उनी त्यो रात छट्पटाए । उनले आफूलाई गाह्रो भएको भन्दै चिकित्सकलाई आफैं बोलाए । ‘अक्सिजनको मात्रा बढाएर धन्न जोगायौं’, उपचारमा संलग्न एक चिकित्सकले भने । शरीर बाउँडिने, अक्सिजनको कमी, ग्लुकोजको मात्रा कम, घाँटीको संक्रमणले थलिइसकेका डा. केसीले औषधि भने फिटिक्कै लिन मानेनन् । उनको मस्तिष्कमा आएको समस्याका कारण बेलाबेलामा अर्धबेहोस अवस्थामा बर्बराउनसमेत थालेका थिए ।
साउन १ गते सरकारले डा. केसीको माग सम्बोधनका लागि छलफल गर्न भन्दै वार्ता समिति बनायो । सोमबार र मंगलबारको दुई चरणको वार्ता निष्प्रभावी भएपछि डा. केसीले वार्ताको औचित्य तत्कालका लागि सकिएको घोषणा गरे ।
कारण सरकारले बनाएको वार्ता निकासका लागि भन्दा पनि उनलाई काठमाडौँ पुर्याउनका लागि बनाइएको थियो । तर डा. केसीले कुनै पनि हालतमा काठमाडौँ नजाने बताएपछि सरकारसँगको वार्ता पनि अनिश्चित बन्यो । उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘मेरो स्वास्थ्यको चिन्ता सरकारलाई हो भने सरकारले मेरो माग पूरा गरोस्, म अहिले नै सत्याग्रह रोकेर जुम्लाबाट फर्कन्छु।’
बुधबार विज्ञप्ति जारी गरेर माग पूरा नभएसम्म काठमाडौँ नफर्कने अडान लिएका डा. केसी बिहीबार बिहान निकै तनावमा देखिएका थिए । कारण उनलाई तारन्तार खबर आइरहेका थिए– तपाईंलाई लिन सरकारको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । आफूलाई सरकारले जबरजस्ती काठमाडौँ लैजाने अन्तिम तयारी गरेको थाहा पाएपछि उनले अडियोमार्फत राज्यलाई सम्बोधन गर्दै भनेका थिए, ‘मेरो मानवअधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गर्छु, म जुम्लामा ठीक छु, राम्रो उपचार पाइरहेको छु ।’
त्यो सम्बोधनको केही बेरमै नेपाली सेनाको हेलिकोप्टर आइपुग्यो । जुनकुनै हत्कन्डा अपनाएर भए पनि केसीलाई काठमाडौँ पु¥याउने सरकारको रणनीतिबमोजिम अस्पताल क्षेत्रमा रक्तपातकै अवस्था उत्पन्न भयो । अन्नतः डा. केसीलाई सरकारले अपहरणकै शैलीमा हेलिकोप्टरमा उडायो।
‘दमनका योजनाका मुख्य मन्त्री र कानुन मन्त्री’
बिहीबार अस्पतालमा भएको प्रहरी दमनको योजनाकार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारी भएको आरोप लागेको छ ।
डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर लिएर जुम्ला आइपुगेका उनीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाहिरिएलगत्तै अस्पताल क्षेत्र रणभूमि बनेको थियो । जुम्लाकै स्थानीय भण्डारीले आफैंले बनाएको अस्पताललाई आफैले नाश गरेको आरोप जुम्लीले लगाएका छन् ।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठाबाट बाहिरिएर हेलिकोप्टर तैनाथ राखिएको स्थल नेपाली सेनाको ब्यारेकतर्फ उक्लिएका उनीहरुले नै बल प्रयोग गरेरै भए पनि डा. केसीलाई बाहिर निकाल्न प्रहरीलाई निर्देशन दिइरहेका थिए । ‘जसरी जुन एक्सन लिएर हुन्छ, केसीलाई बाहिर निकाल्नू भन्ने आदेश छ,’ अस्पताल परिसरमा रहेका एक घुमुवा प्रहरी भन्दै थिए, ‘डा. केसी जसरी पनि काठमाडौँ पुगेकै हुनुपर्छ ।’
प्रकाशित: ५ श्रावण २०७५ ००:३० शनिबार