राजनीति

राजपा जिल्ला संयोजक नेकपामा प्रवेश

सर्लाही – राजपा नेपाल सर्लाहीका संयोजक नागेश्वर साह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

बुधबार सदरमुकाम मलंगवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता एवं संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले अबिर र माला लगाएर साहलाई स्वागत गरे । मधेसको हित चाहने वास्तविक पाटी नेकपा मात्र भएको उल्लेख गर्दै मन्त्री महासेठले भौतिक पूर्वाधार मन्त्रालयबाट मात्र मधेसको विकासका लागि ३५२ करोड बजेट विनियोजन गरिएको दाबी गरे ।

राजपाभित्र चरम गुटबन्दी भएको, पार्टीका सांसदले समेत काखापाखा गर्ने गरेको, केन्द्रीय अध्यक्षमण्डलका नेतालाई विवाद मिलाउन पटक–पटक आग्रह गर्दा समेत वेवास्ता भएकोलगायत आरोप लगाउँदै साहले केही दिनअघि राजपा सर्लाही संयोजकबाट राजिनामा दिएका थिए । विभिन्न पार्टी मिलेर राजपा बने पनि भावनात्मक एवं व्यवहारिक रूपमा एकता हुन नसकेको र नेता कार्यकर्ताबीच चरम गुटबन्दी कायम रहेकाले उक्त पार्टीमा बसेर काम गर्न निकै समस्या परेको साहले बताए ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो एवं महेन्द्र रायको गृह जिल्ला संयोजक साहको प्रवेशले नेकपाका नेता कार्यकर्ताले ठूलो उपलब्धि ठानेका छन् ।

प्रकाशित: ३ श्रावण २०७५ ०१:१९ बिहीबार

राजपा जिल्ला संयोजक नेकपामा प्रवेश