राजनीति

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले पार्टीभित्र बृहत् एकताका लागि विभागदेखि सबै निकाय गठनमा सम्मान र न्यायपूर्ण आधार तय गर्नुपर्ने निष्कर्ष निकालेका छन्। पार्टी सभापति शेरबहादुर देउवा विधान संशोधनका लागि मस्यौदा समितिका साथै विभाग गठनको गृहकार्यमा जुटेका बेला पौडेल पक्षीय नेताहरुले विधानभित्र रहेर विभाग र अन्य समिति गठनका लागि निश्चित आधार बनाउनुपर्ने निष्कर्ष निकालेका हुन्।

पार्टीलाई चलायमान बनाउन सबै निकाय र समिति गठनमा विलम्ब गर्न नहुने ठहर गर्दै पौडेल पक्षीय नेताहरुको भेलाले सभापति देउवासँग बुधबार भेटेरै छलफलका लागि समय तय गरेका छन्। उनीहरुले सभापति निवास बूढानीलकण्ठमा विधान संशोधन समिति, विभागहरु गठनका विषयमा छलफल गर्नेछन्।

‘विधान संशोधनका लागि समिति गठन भएका छैनन्। महासमिति बैठक गर्ने निश्चित भएको छैन,’ नेता पौडेलले भने, ‘विधानअनुसारका समितिहरु क्रमशः गठन गर्दै जानुप-यो। भ्रातृ संगठनहरुको अधिवेशन पनि समयमै गराउनुपर्छ।’

पौडेल पक्ष विधानविपरीत गठन भएका संसदीय र कार्यसम्पादन समिति पनि विधानअनुसार गठन गर्नुपर्ने पक्षमा उभिएको छ।

‘पार्टी विधानभित्रै रहेर सबै समिति गठन हुनुपर्छ,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘विधान पालना गरेर सबैलाई न्याय हुनेगरी पार्टीलाई अघि बढाउनुपर्छ।’

केन्द्रीय समिति, जिल्ला सभापतिहरुको भेलापछि पनि पार्टीलाई कसरी अघि बढाउने भन्नेमा नेतृत्वको ध्यान नपुगेको सदस्यहरुले गुनासो गरेका छन्। ‘आग्रह र पूर्वाग्रहका आधारमा होइन सबैको भावना समेटर अघि बढ्नुपर्छ,’ जोशीले भने, ‘योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ।’

प्रकाशित: १ श्रावण २०७५ ०२:१२ मंगलबार

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष