राजनीति

खेलकुदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्। 

अध्यक्ष दाहालले भनने, “संसारमा धेरै मुलुकलाई खेल क्षेत्रले मजबुत बनाएको छ। उनीहरुले त्यसबाट बढी प्रगति पनि गरेका छन्। नेपालले पनि खेलकुद क्षेत्रलाई बढी महत्व दिएर लगानी गर्नुपर्छ र राष्ट्रिय एकताको आधार तयार पार्नु पर्दछ।” 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार आयोजना गरेको ‘समृद्ध नेपालका लागि खेलकुद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको संकल्पलाई पूरा गर्न पनि खेलकुद क्षेत्रमा लगानी बढाउनैपर्ने बताए। 

संविधानले नै मुलुकलाई समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको, आफ्नो पार्टीले समृद्ध समाजको परिकल्पना गरेको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको संकल्प लिएकाले खेलकुद क्षेत्र पनि त्यसको एउटा आधार बन्नुपर्ने धारणा राखे। 

उनले विद्यालय तहदेखि विश्वविद्यालयको तहसम्मै खेलकुद क्षेत्रलाई एउटा महत्वपूर्ण शैक्षिक कार्यक्रमका रुपमा राखेर प्राथमिकतामा राख्नुपर्ने र महत्व दिइनुपर्नेमा जोड दिए। लामो मेहनत, बलिदान र प्रयासबाट नेपालमा राजनीतिक स्थायित्वको वातावरण बनेको, स्थायी सरकार बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले आर्थिक समृद्धि र विकासको योजनासमेत तयार भएकाले यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। 

खेलकुद क्षेत्रमा कस्तो योजना बनाउने भन्नेमा यसै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञ तथा विशेषज्ञले पार्टी नेतृत्वलाई सुझाव दिनुपर्ने उनको जोड थियो। विगतमा राज्यका हरेक क्षेत्रमा अस्थिरता र अराजकता रहेको तथा खेलकुद क्षेत्रसमेत अछुतो नरहेको भन्दै अब भने नकारात्मक प्रवृत्तिलाई हटाएर सकारात्मक प्रवृत्तितर्फ दोहोर्याउन अग्रसर हुनुपर्ने स्पष्ट पारे। 

आफूले विगतदेखि नै खेलकुद क्षेत्रलाई सुधार गर्ने संकल्प गरेको जानकारी दिँदै अध्यक्ष दाहालले शैक्षिक रुपमा पनि सबल र सक्षम हुँदै दक्ष खेलाडी तयार पार्न सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरे। खेलकुद क्षेत्रको विकासका लागि सरकारले बजेट बढाउने प्रयास गरेको भए पनि पुग्दो नभएकामा पार्टी नेतृत्वले गम्भीर भएर समीक्षा गरेको र कुनै न कुनै स्रोतबाट भए पनि थप बजेट उपलब्ध गराउने निष्कर्षमा पुगेको उनको भनाइ थियो। 

आफूले पनि नियमित रुपमा टेबल टेनिस खेल्ने गरेको जानकारी दिँदै अध्यक्ष दाहालले स्वस्थ र तनावरहित जीवनका लागि पनि खेलकुद अनिवार्य शर्त रहेको बताए। कार्यक्रममा नेकपाका नेताहरु टोपबहादुर रायमाझी, जीवनराम श्रेष्ठ र पुरुषोत्तम पौडेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानीमा वृद्धि, सहज नीतिको व्यवस्था तथा शैक्षिक रुपमा नै कार्यक्रम जरुरी रहेको बताएका थिए। (रासस)

प्रकाशित: २४ असार २०७५ १५:३८ आइतबार

खेलकुदको क्षेत्रमा लगानी बढाउनैपर्छ अध्यक्ष दाहाल