राजनीति

विनियोजन ऐन पारित

रसुवा – रसुवाको उत्तरगया गाउँपालिकाले ‘उत्तरगया गाउँपालिकाको विनियोजन ऐन २०७५’ पारित गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७५-७६ को सेवा र कार्यहरूका लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन मंगलबारको तेस्रो गाउँसभाले पारित गरेको हो।

ऐनमा कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुन आएको देखिएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुनेमा शीर्षकमा रकम सार्न सक्ने व्यवस्था गरिएको छ ।‘रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशत नबढ्ने गरी कुनै एक वा एक भन्दा बढि शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सक्ने’ उल्लेख छ।

कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्नमा परेमा गाउँसभाको स्वीकृति लिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।  गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरि २२ करोड ९४ लाख ४० हजार बजेट विनियोजन गरेको छ।

 

प्रकाशित: २० असार २०७५ ०३:३५ बुधबार

विनियोजन ऐन पारित