राजनीति

सरकार सर्वसत्तावादतर्फ उन्मुख : निधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकार एकदलीय अधिनायकवाद लाद्न उन्मुख भएको आरोप लगाएका छन्। पार्टी केन्द्रीय समितिले उपसभापतिमा मनोनित गरेको डेढ महिनापछि शुक्रबार केन्द्रीय कार्यालयमा पदभार सम्हाल्दै निधिले सरकार चौतर्फी सिन्डिकेट कायम गरेर मुलुकमा सर्वसत्तावाद लागु गर्न अग्रसर भइरहेको दाबी गरेका हुन्।

आफ्ना अधिकार र मागलाई मुखरीत गन जनताको अधिकारलाई सरकारले कुन्ठीत गर्न लागि परेको सुनाउँदै निधिले भने, ‘विरोध प्रदर्शन गर्न स्थान तोक्नुले ओली नेतृत्व कम्युनिस्ट सरकार एक दलीय अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट हुन्छ।’

सरकारले समावेशीता, न्यायपालिका, कार्यपालिका, प्रादेशिक संसद्मा निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाउँदै निधिले कम्युनिस्ट नेतृत्व सरकार राजनीतिक सिन्डिकेट कायम गर्न लागि परेको टिप्पणी गरे। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको औचित्य सकिएको भन्दै सत्तारुढ दलका जिम्मेवार व्यक्तिको अभिव्यक्ति आइरहेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसको औचित्य छैन भन्नु बहुदलीय शासन व्यवस्थाको औचित्य छैन भन्नु हो । यो सर्वसत्तावादको लक्षण हो।’

सरकारको सम्पूर्ण गतिविधि संघीयता र समावेशी सिद्धान्तविरुद्धमा रहेको बताउँदैै निधिले भने, ‘प्रधानमन्त्री प्रदेश सरकारलाई आफ्नो शाखाको स्वरुपमा प्रयोग गर्दै सम्बोधन गरी रहनु भएको छ । जुन संघीयता बिरोधी कार्य हो।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने बहस समाप्त भएको दाबी गर्दै निधिले कांग्रेसलाई अब कसरी बलियो बनाएर लैजाने भन्नेमा सबैको ध्यान केन्द्रीत भएको जिकिर गरे।

‘जिल्ला सभापतिहरुको हेटौंडा भेलाले दूरदर्शी घोषणापत्र जारी गरीसकेकाले अब समीक्षा गरेर आरोप प्रत्यारोप गरिरहनु पर्दैन,’ उनले भने, ‘कांग्रेस हारको शोकबाट मुक्त भएर अब बलियो संगठन निर्माणमा जुट्ने छ।’ तर, असन्तुष्ट पक्षीय नेता निर्वाचनमा पार्टी हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै आगामी महासमिति बैठक हुँदै महाधिवेशनसम्म उठाउने पक्षमा छन्। नेतृत्वमा पुग्नका लागि असन्तुष्ट पक्षले त्यसलाई उपयोग गर्ने र सभापति निकटहरु निर्वाचन सम्पन्न गराएको जसका आधारमा नेतृत्वमा पुग्ने रणनीतिमा छन्।

उपभापति निधि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र पार्टी संगठन मजबुत बनाउन सातै प्रदेश र ७ सय ५३ स्थानीय तहमा छिट्टै प्रशिक्षणसहितका कार्यक्रम चलाउने दाबी गरे। तर, वैशाख १६गते सम्पन्न केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि एकीकृत राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेपनि अहिलेसम्म त्यसको खाकासम्म तय गर्न सकेको छैन।

संविधानको व्यवस्थाअनुसार स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचनाका लागि पार्टी विधान संशोधन गरी समय अनुकूल बनाउने निर्णय गरेपनि व्यक्तिमा सहमति जुट्न नसक्दा अझै समिति गठन हुन सकेको छैन।

बिहानको भेट पार्टी कार्यालयमा
ज्योतिषीको सल्लाहअनुसार शुक्रबार बिहान ७ः५५मा पदभार सम्हालेका उपसभापति निधिले प्रत्यक दिन बिहान साँढे आठ देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आउने प्रतिबद्धता जनाएका छन्। नेताहरुको घरमा भिड तर पार्टी कार्यालय प्रयास सुनसान हुने गरेको भन्दै निधिले आफुैबाट सुधार थाल्ने प्रतिबद्धता जनाएका हुन्।

निवासमा बिहानको भेटघाट नगर्ने जनाउँदै उनले भने, ‘पार्टी कार्यालय नेताहरू भेट नभएको गुनासोलाई सम्बोधन गर्दै आफैंबाट सुधार थालनी गर्दै बिहानको भेटघाट घरमा होइन कार्यालयमै गर्छु।’ पार्टी सभापतिसहितका सबैले आफ्नै निवासमा कार्यकर्तासँग भोटघाट गर्दा केन्द्रीय कार्यालयमा महिनौंसम्म पनि पदाधिकारी र केन्द्रीय सदस्य पुग्दैनन्।

विगतमा तत्कालीन सभापतिहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला मात्र होइन वर्तमान सभापति शेरबहादुर देउवाले पनि पटक पटक नियमित कार्यालय आउने प्रतिवद्धता जनाएका थिए। वर्तमान सभापति देउवाले पार्टी वरिष्ठ नेता हुँदा पनि दिउँसोमा नियमित कार्यालय आउने दाबी गरेका थिए। तर कुनै पनि नेता एक साता बढि आफ्नो प्रतिबद्धतामा टिक्न नसकेको विगत कांग्रेसमा रहेको छ।

प्रकाशित: १७ असार २०७५ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App