राजनीति

मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई

काठमाडाैं- शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गरेका प्रश्नको जवाफ दिँदै उनले घरबाट सिधै नदीमा ढल मिसाउने कार्य कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे।

भवन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न, सबै पालिकामा भवनसंहिता कार्यान्वयन गराउन उनीहरुको क्षमता बढाइएको, जनता आवास कार्यक्रम प्रदेश तहबाट सञ्चालन गर्न रकम विनियोजन भएको मन्त्री राईले जानकारी दिए। 

उनले एकीकृत शहरी विकास गर्न संघअन्तर्गत कार्यक्रम राखी देशका १५० नगरपालिका एकीकृत शहरी योजना कार्यान्वयनमा ल्याउन लागेको, शहरलाई मेघा सिटी, स्मार्ट सिटी विकसित गर्न लागिएको जानकारी दिँदै संघीय संसद् भवन निर्माण कार्य अगाडि बढेको बताए। 

मन्त्री राईले भने, “शहरी विकास तथा आवास निर्माण गर्न रकम विनियोजन गर्दा भेदभाव गरिएको छैन, विपन्न समुदायलाई आवास निर्माण गर्दा सरकारले सुविधा दिनेछ।” 

मन्त्री राईको सो जवाफमाथि पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले प्रत्येक जिल्लाका जिल्ला सदरमुकामलाई सुविधा सम्पन्न गराउन के योजना छ भनी प्रश्न गरे। सांसद सरिताकुमारी गिरीले शहरी विकास कार्यक्रम नयाँ नगरपालिका पनि कार्यान्वयनमा ल्याउन माग गरिन। 

सांसद दिव्यमणि राजभण्डारीले भूकम्पपीडित जनतालाई थप राहत दिन माग गर्नुभयो भने राजकिशोर यादवले प्रदेश नं २ का शहर स्मार्ट, मेघा सिटी बनाउन माग गरे।  

सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री राईले सांसद आवास निर्माण कार्य अगाडि बढाइने, सिराह जिल्लामा बजेट यथेष्ट विनियोजन भएको जानकारी गराए।  

प्रकाशित: १३ असार २०७५ १०:०४ बुधबार

मेघा सिटी स्मार्ट सिटी विकसित गरिनेछ मन्त्री राई