राजनीति

प्राविधिक शिक्षामा जोड दिनुहोस्ः मुख्यमन्त्री शाही

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनमुखी र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। 

उनले अहिलेको शिक्षा प्रमाणपत्रमुखी र विष्लेषणमुखी रहेको बताउँदै शिक्षामा आमुल परिवर्तनको खाँचो रहेको बताए। मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने आवश्यकता औल्याए। 

‘अहिले पनि थुप्रै विद्धानहरू झोलामा ल्यापटप बोकेर पावरपोइन्टमार्फत देखाउनुहुन्छ’ ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसर पारेर एसओएस बालग्राम सुर्खेतले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली र समग्र देशको आवश्यकता परिपूर्ति गर्नका लागि प्राविधिक शिक्षाको खाँचो छ।’ उनले शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताए। 

मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए। मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्नका लागि प्राविधिक शिक्षामा जोड दिँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए। 

समाजिक, आर्थिक र साँस्कृतिक कारणले शिक्षा क्षेत्रवाट बञ्चित बालबालिकालाई शिक्षित बनाउन एसओएस बालग्राम विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मुख्यमन्त्री शाहीले यसलाई अझ बिस्तार गर्नुपर्ने बताए। उनले शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख जीतबहादुर शाहले बाल मनोविज्ञानलाई बुझेर शिक्षा दिनुपर्ने बताए। उनले अभिभावक तथा शिक्षकहरूले बालबालिकालाई त्रास र भयमा राख्ने गरेको बताउँदै त्यसो नगर्न आग्रह गरे। एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले बालबालिकाको जीवन सुरक्षित बनाउन तथा गुणस्तरीय स्याहारमा एसओएस बालग्रामले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले बालबालिकाको गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे। 

वीरेन्द्रनगर नगरपालिका–४ नम्बर वडाका अध्यक्ष निलकण्ठ खनालले एसओएसले गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका खेलेको बताए। विद्यालयका प्राचार्य हिक्मतबहादुर वलीले विद्यालयलाई आत्मनिर्भर बनाउनका लागि सुरु गरिएको अभियानमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे। 

प्रकाशित: ८ असार २०७५ १२:४७ शुक्रबार

प्राविधिक शिक्षामा जोड दिनुहोस्ः मुख्यमन्त्री शाही