राजनीति

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

मकवानपुर– नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार बन्दसत्रमा बोल्दै कांग्रेस अछामका सभापति भरतबहादुर स्वाँर पार्टीमा बिधानमा संशोधन गर्दै हिन्दु राष्ट्रको माग गरेको बताए। जिल्ला कार्यसमितिले समेत हिन्दु राष्ट्रको लागि निर्णय गरेको बताउँदै संविधान निर्माणदेखि नै व्यापक असहमती राख्दै आएको दाबी गरे। उनका अनुसार डडेलधुरा, दाङ्ग, पर्वत, मकवानपुर लगायतका जिल्ला सभापतिले पनि पार्टीको विधानमा धर्म निरपेक्ष खारेज गर्दै पुनः हिन्दु राष्ट्र कायम गर्न माग गरेका छन्।

यता, कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले पार्टी सभापतीय पद्दतीमा रहेकाले हारको नैतिक जिम्मेवार लिनुपर्नेमा आवाज उठाएको उनले बताए। केन्द्रीय नेतृत्वको कमजोरीकै कारण पार्टीको संगठन कमजोर र चुनावमा नतिजा राम्रो ल्याउन नसकेको उनको दाबी छ। ‘पार्टी संगठनमा हार–जितको जिम्मेवारी नेतृत्वले लिनैपर्छ, सात प्रदेशमा एक ठाउँमा पनि टेक्ने ठाउँ छैन, यत्रो ईतिहास बोकेको ठुलो पार्टी २३ सिटमा खुम्चिएको छ।’

‘आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल पार्न नेताहरु लागेका थिए,’ उनले आक्रोश पोख्दै भने, ‘तर अहिले नेकपाको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कांग्रेसले सहजै पारित गराएर कस्तो संसदीय प्रणालीको अभ्यास गर्दैछौ?’

प्युठानका सभापति अमरप्रसाद भण्डारीले नेतृत्व पार्टी संगठन मजबुद बनाउन भन्दा सत्तामै केन्द्रीत भएकाले चुनावमा हार व्यहोर्नु परेको बताए। कांग्रेसले राजनीतिक रणनीतिमा ध्यान नदिँदा अन्य दलले प्रयोगमात्र गरेको बताउँदै पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरेर एकता गरेर जानुको विकल्प नभएको बताए। वर्तमान नेकपा नेतृत्वको सरकार सर्बसत्तावाद तर्फ अघि बढेको बताउँदै उनले लोकतन्त्रिक अधिकारलाई सुरक्षित गर्न कांग्रेसले तयारी गर्नुपर्ने बताए।

बिहीबार साँझ कार्यक्रम स्थल पल्पसा सभागृहमा पत्रकार सम्मेलन गर्दै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वनिर्धारित समसायिक मुद्धाहरुमा पार्टीले निर्माण गर्नुपर्ने धारणा, बदलिएको राज्य संरचनाअनुसार पार्टीको बिधानलाई परिमार्जित गर्नुपर्ने र काँग्रेस चुनावमा धेरै स्थानमा पराजित पछि आगामी यात्राको लागि साँगठनिक सुदृढीकरण कार्यक्रमबारे नै धारणा राखेको बताए। अब कांग्रेस रुपान्तरण गरेर जानुको विकल्प नभएको बताउँदै त्यसका लागि पार्टी नेतृत्व गम्भीर भएर तत्काल कदम चाल्नुपर्नेमा सभापतिहरुले जोड दिएको उनको भनाई छ।

कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौंलाले मञ्च छोडेर नगएको दाबी गर्दै धेरै वक्तालाई बोल्न नदिने कांग्रेसले समायानुकुल परिवर्तन गरेको तर्क गरे। एकअर्कालाई दुश्मन ठान्ने उत्तर कोरियाका राष्ट्रपति किम र अमेरिकाका राष्ट्रपति ट्रम्पले मैत्रीपूर्ण बार्ता गर्ने अनि तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड र तत्कालिन एमालेका अध्यक्ष ओली एउटै पार्टी बनाएर जान सक्ने तर कांग्रेसका नेतृत्व किन मिलेर जान नसक्ने भनेर दबाव दिएको उनले बताए। सभापति भेलाले कांग्रेसलाई पुनर्जीवन दिनेमा विश्वस्त रहेको बताउँदै उनले नाम नलिई नेपाल कम्यूनिष्ट पार्टीको नेतृत्वले जस्तो फरक मत राख्न नदिने पार्टी कांग्रेस नभएको बताए।

बुधबार ३८ जना जिल्ला सभापतिले धारणा राखेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा बिहीबार रातीसम्ममा बाँकी ३७ जिल्ला सभापतिले आफ्नो भनाई राखेका थिए। बिहीबारको छलफलमा हुम्लाका जयपति रोकाया, मोरङका डिगबहादुर लिम्बू , काठमाडौंका कृष्ण (सवुज) बानियाँ, रसुवाका पेम्बा छिरिङ्ग लामा, बारा जयचन्द्र चौरसिया लगायतले आफ्नो धारणा राखेका थिए।

जिल्ला सभापतिहरुको धारणालाई अडियो रेकर्ड गरिएको बताउँदै उनले सबै सभापतिको धारणालाई समेटेर हेटौंडा घोषणा पत्र शुक्रबार जारी गरिने बताए।

प्रकाशित: ७ असार २०७५ १५:५९ बिहीबार

सबल एकताबद्ध पार्टी नेतृत्व हिन्दू राष्ट्रको माग