राजनीति

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै महासंघको आपत्ती

काठमाडौं- सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटी माथी धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।

महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती प्रकाशित गर्दै समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समूहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको जनाइएको छ।

समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएको भन्दै महासंघले आप्ति जनाएकोछ।  

प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समूह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले जनाएको छ।

यस्तै घटनाबारे प्रेस युनियन गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनका अध्यक्ष वद्री सिग्देलद्वारा जारी विज्ञप्तीमा समाचार सम्बन्धी विषयमा चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय भएको जनाइएको छ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०८:५३ शुक्रबार

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै महासंघको आपत्ती