राजनीति

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

जनकपुरधाम – प्रदेश–२ को राजधानी सहर जनकपुर अस्तव्यस्त बनेको वर्षदिन बितिसक्यो। सहरभित्रका सडक र नालाको स्तरोन्नति गर्न भन्दै मुख्य बजार क्षेत्रका सबै सडक खनिएको छ। सडक फराकिलो पार्न दुवै छेउका भवन भत्काइएका छन्। सहरको केन्द्र मानिने शिवचोक, भानुचोक, जनकचोक, रामचोकलगायत क्षेत्रको बजार बन्द भएको पनि महनौ भइसक्यो। यही अवधिमा प्रदेशको अस्थायी मुकाम तोकियो जनकपुर । स्थायी राजधानी तय हुने संवैधानिक तयारी अन्तिम चरणमा पुगेको छ। नगरको भौतिक अवस्था भने दयनीय छ।

वर्षौदेखि जीर्ण रहेको जनकपुर बनाउन एशियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा प्राप्त करिब एक अर्ब रुपैयाँको लागतमा एकीकृत सहरी विकास आयोजना सुरु भएको तीन वर्ष बितिसक्यो । उक्त आयोजना सम्पन्न गर्न दुईपटक म्याद थप गरिसक्दा पनि काम भने अधुरै छ। यही गतिले काम भइरहयो भने अब थपिने अवधिमा पनि निर्माण सम्पन्न हुन नसक्ने उपमहानगरपालिकाका कर्मचारी बताउँछन्।

‘ठेकेदारको ढिलासुस्ती पनि आयोजना बिलम्बको एक प्रमुख कारणको रूपमा देखिन्छ। हामीले सबै क्लियर गरेर दिएको ठाउँमा पनि निर्माण कार्यमा निकै ढिलो भइरहेको छ, त्यहाँ ठेकेदारको दोष देखिन्छ।’

नगरभित्र पर्ने मुख्य सडकको करिब सवा नौ किलोमिटर र ३२ किलोमिटर भूमिगत नाला निर्माण कार्य गत फेब्रुअरी २१ सम्म सम्पन्न गरिसक्नुपर्ने थियो। ठेकेदारको ढिलासुस्ती र जनकपुर उपमहानगरपालिकाको लापरवाहीका कारण निर्धारित समयभित्र काम नसकेपछि यही जुन ३० सम्मका लागि म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्यादभित्र पनि काम सक्ने छाँटकाँट नदेखिएपछि जनकपुर उपमहानगरपालिकाले पुनः तेस्रोपटक म्याद थप गराउने प्रक्रिया अघि बढाएको इन्जिनियर वीरेन्द्र यादवले बताए।

सडक तथा नाला निर्माणको अनुगमन र मूल्यांकन गर्ने एकीकृत सहरी विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ कार्यालयका उपप्रमुख समेत रहेका इन्जिनियर यादवका अनुसार आइतबारसम्म ७५ प्रतिशत काम पुरा भएको छ । उनले ७५ प्रतिशत काम पुरा भएको दावी गरेपनि आधाभन्दा बढी काम बाँकी नै रहेको सोही कार्यालयका एक कर्मचारी बताउँछन्।

यादव स्वंयले दावी गरेअनुसार सवा ९ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा दोस्रो पटकको म्याद समाप्त हुन लाग्दा जम्मा चार किलोमिटर सडक पिच भएको छ। सडकको दुवै किनारमा निर्माण गर्नुपर्ने फुटपाथमा भने हातसमेत लाग्न सकेको छैन। त्यस्तै, ३२ किलोमिटर भूमिगत नाला निर्माण गर्नुपर्नेमा जम्मा २१ किलोमिटर ह्युमपाइप ओछ्याइएको छ। अन्य भागमा ह्युमपाइप ओछ्याउने कार्य पनि सुरु हुन नसकेको उनले बताए।

दुरसञ्चार, विद्युत र खानेपानीले तार तथा पाइप व्यवस्थित गर्न अटेर गरेको र स्थानीयले सडक अतिक्रमण गरी बनाएको संरचना खाली गर्न तयार नभएको कारण समयमै आयोजना सम्पन्न गर्न नसकिएको यादवको भनाइ छ। ‘यी बाहेक ठेकेदारको ढिलासुस्ती पनि आयोजना बिलम्बको एक प्रमुख कारणको रूपमा देखिन्छ,’ उनले भने, ‘हामीले सबै क्लियर गरेर दिएको ठाउँमा पनि निर्माण कार्यमा निकै ढिलो भइरहेको छ, त्यहाँ ठेकेदारको दोष देखिन्छ।’ ठेकेदारलाई समयमा काम सक्नेगरी कामको गति बढाउन बारम्बार ताकेदा गर्दा पनि अटेर गरिरहेको उनले बताए।

सन् २०१६ फेब्रुअरी २२ बाट औपचारिक रुपमा निर्माण कार्य सुरु गरी दुई वर्षभित्र सम्पन्न गर्न जेडआइइसी शर्मा जेभीले उक्त काम ठेक्का पाएको हो । ९८ करोड ९८ लाख रुपैयाँमा ठेक्का पाएको ती निर्माण कम्पनीले काम गर्न स्थानीय रमण कन्स्ट्रक्शन प्रालिलाई पेटी ठेक्का दिएको छ। पहिलेदेखि नै दर्जनौ ठेक्कासम्बन्धी काममा व्यस्त रहेको रमण कन्स्ट्रक्सनले पैसाको लोभमा ठूला निर्माण कम्पनीको काम पेटीमा लिए पनि समयमा सम्पन्न गर्न नसकिरहेको आयोजनाका एक कर्मचारीले बताए। उनका अनुसार जेडआइइसी चीन र शर्मा नेपालस्थित काठमाडौंका निर्माण कम्पनी हुन्।

डेढ महिनामा चार प्रमुख फेरिए
एशियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको आयोजना कार्यान्वयन एकाइ कार्यालय, जनकपुरका प्रमुख पछिल्लो डेढ महिनामा तीन पटक फेरिइसके। आयोजना सुरु भएदेखि नै प्रमुखको जिम्मेवारी पाएका तत्कालिन सहरी विकास तथा भवन डिभिजनका प्रमुख इन्जिनियर गंगाप्रसाद यादव दुई महिना अघि एउटै कार्यालय सम्हाल्नेगरी डिभिजनमै फर्काइए । त्यसको दुई हप्तापछि प्रभाकर कर्णलाई पठाइयो। उनले महिना दिन पनि काम गर्न सकेनन् । गत साता कर्ण पनि फर्केपछि उपमहानगर पालिकाका इन्जिनियर यादवलाई निमित्त तोकिएको थियो । दुई दिन अगाडि प्रदीप सिंहलाई पठाइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:३३ बुधबार

प्रदेश राजधानी जनकपुर अस्तव्यस्त